शुक्रबार, बैशाख १४, २०८१

बास्नादार धानको उत्पादन बढाउन विशेष कार्यक्रम

ललितपुर, ७ असोज । मसिनो र बास्नादार धानको उत्पादन बढाउने उद्देश्यले सरकारले आगामी वैशाखदेखि मुलुकका २० जिल्लामा विशेष कार्यक्रम ल्याउने भएको छ ।

मसिनो र बास्नादार धानप्रति ग्राहकको माग बढ्दै गएको हुँदा मसिनो र बास्नादार धानमा वृद्धि गर्नका लागि मसिनो धान लगाउने स्थान र कृषकसमेत छनोट गर्ने किसिमको कार्यक्रम ल्याउन लागिएको बाली विकास निर्देशनालयका प्रमुख डिल्लीराम भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार सुरुमा देशभरिमा बढी धान उत्पादन हुने २० जिल्लामा यो कार्यक्रम ल्याउने तयारी रहेको छ । ती जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सिराहा, बारा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, गुल्मी, ललितपुर, काठमाडौँ, धनुषा, दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र लम्जुङ रहेका छन् ।
छनोटमा परेका जिल्लाका कृषकमध्ये कृषक समूह तथा सहकारी संस्थामा आबद्ध क्रियाशील कृषकलाई यस कार्यक्रममा छनोट गरिने छ ।
छनोटमा परेका कृषकले सम्बन्धित जिल्लाका जिल्ला कृषि विकास कार्यलयहरूबाट यस विषयमा जानकारी र सरकारले तोकेअनुसारको अनुदान लिन सक्नेछन् । बीउ उत्पादन गर्नका लागि सरकारले ७५ प्रतिशत अनुदान दिने भएको छ ।
आगामी वर्ष २० जिल्लाका सात हजार ५०० हेक्टर जमिनमा मसिनो धान लगाइने छ । ती धानमा बास्मती, सावित्री, लोकल मनसुली, जेठोबुढोलगायतका रहेका छन् ।

प्रकाशित मिति: मङ्लबार, अशोज ७, २०७१