शनिबार, बैशाख १५, २०८१

कृषि क्षेत्रको विकासबाटै आर्थिक समृद्धि संभव : राजदूत मेयर

काठमाडौँ, १५ भदौ । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत यारोन मेयरले कृषि क्षेत्रको विकासबाटै आर्थिक समृद्धि सम्भव हुने बताउनुभएको छ ।

आफ्नो कार्यभार सम्हाल्न यसैसाता राजधानी आइपुग्नु भएका उहाँले इजरायली राजदूतावास र साना किसान विकास बैंकले संयुक्तरूपमा सञ्चालन गरेको कृषि प्रशिक्षार्थी कार्यक्रमअन्तर्गत इजरायलका विभिन्न कृषि तालिम केन्द्रमा १० महिने तालिममा सहभागी हुने युवा विद्यार्थीका लागि आज यहाँ आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।
उहाँले कृषि विकासको प्रचुर सम्भावनायुक्त नेपालले युवा कृषकहरूबाट उत्पादन र उत्पादकत्वमा व्यापक वृद्धि गर्नसक्ने उल्लेख गर्नुभयो ।
विगतमा कृषि प्रशिक्षार्थीका रूपमा इजरायल गएका नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेको कामप्रतिको समर्पण, मेहनत र कौशलताका कारण आफ्नो देशको सरकारले नेपाली प्रशिक्षार्थीेका लागि यो वर्ष तालिम कोटामा बढाएको जानकारी दिनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले उक्त कार्यक्रममा सीप सिक्न इजरायल जाने साना किसान परिवारका विद्यार्थीहरूले तालिम पूरा गरी स्वदेश फर्किएपछि व्यावसायिक कृषिमा संलग्न भई स्वरोजगार मात्र नभई थप रोजगारीका अवसरसमेत सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा दिइएको जानकारीअनुसार इजरायल सरकारको सहयोगमा बैंकले गत वर्ष २०५ विद्यार्थीलाई उक्त तालिममा इजरायल पठाएकामा यो वर्ष ५०१५ जनालाई पठाउने कार्यक्रम छ । तालिमसँगै प्रशिक्षार्थीलाई मासिक रु एकलाख बढी तलब पनि प्रदान गरिन्छ ।

प्रकाशित मिति: आइतवार, भदौ १५, २०७१