शुक्रबार, बैशाख १४, २०८१

एकीकृत बाली तथा जल व्यवस्थापन

भद्रपुर, २ भदौ । कृषि विकास कार्यालय झापाले आव २०७०/०७१ मा एकीकृत बाली तथा जल व्यवस्थापनमा रु २३ लाख ८५ हजार खर्च गरेको जनाएको छ । झापाको तोपगाछी, शिवगन्ज, सतासीधाम, पाँचगाछी, महाभारा, बैगुन्धरा र धरमपुर गाविसमा सञ्चालित सो कार्यक्रमबाट ९५ परिवारका २१४ जना लाभान्वित भएका छन् । सो कार्यक्रमअन्तर्गत कृषक पाठशाला, बिजवृद्धि, जनचेतनामूलक प्रकाशन वितरण, माटो सुधार, भकारो सुुधार, कम्पोस्ट तथा हरियोमल विषयमा कृषकलाई जानकारी गराएको कृषि अधिकृत राजेन्द्र खरेलले बताउनुभयो ।
यसैगरी सहकारी खेती साना सिँचाइ कार्यक्रमतर्फ सोही कार्यालयले गएको आवमा रु ४७ लाख ४२ हजार ८३५ खर्च गरेको थियो । सो कार्यक्रमअन्तर्गत १५२ हेक्टर जग्गामा सिँचाइ सुविधा प्रदान गर्नुका साथै मोटर बोरिङ, पम्पसेट बोरिङ, सतह सिँचाइ, मर्मतसम्भारजस्ता कार्यक्रम सञ्चालनबाट ६७४ कृषक लाभान्वित भएका थिए ।

प्रकाशित मिति: सोमवार, भदौ २, २०७१