शुक्रबार, बैशाख १४, २०८१

आइपिएम प्रविधिबाट उत्पादन भएको तरकारीको बजार बन्द

बनेपा, १ भदौ । आइपिएम प्रविधिबाट उत्पादन भएको तरकारीको बिक्री वितरण गर्ने बनेपास्थित चैतन्य मार्गको तरकारी बजार बन्द भएको छ । साताको एक दिनमात्रै सञ्चालन भइरहेको सो बजार स्थान अभावका कारणले बन्द भएको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ कृषि अधिकृत सहदेवप्रसाद हुमागाईंले बताउनु भयो । तरकारी बजार कहाँ सञ्चालन गर्ने भन्ने निश्चित भएपछि पुनः सञ्चालन गर्छांै उहाँले भन्नुभयो ।
जैविक विषादीको मात्रा बढी र रासायनिक विषादीको मात्रा कम प्रयोग गरेर कृषकले आइपिएम प्रविधिबाट उत्पादन गरेको आलु, काँक्रा, बोडी, काउली, भेडे खुर्सानी, भान्टालगायत मौसमअनुसारका विभिन्न थरीका तरकारीको सो बजारबाट बिक्री वितरण हँुदै आएको थियो । त्यस्तो प्रविधिबाट उत्पादन हुने गरेको तरकारी किन्न बजारमा उपभोक्ताको भीड लाग्ने गरेको थियो । विसं ०६९ कात्तिक १ गतेदेखि आइपिएम कृषक समूह, कृषि विकास कार्यालय र उद्योग वाणिज्य सङ्घ काभ्रेपलाञ्चोकको कोसेली घरको संयुक्त पहलमा सञ्चालन भएको तरकारी बजारलाई स्थान निश्चित भएपछि एक सातामा दुई दिन र क्रमिक रूपमा साताभरि नै सञ्चालन गर्ने सोच रहेको वरिष्ठ अधिकृत हुमागाईंले बताउनुभयो ।
हामीले सबै उपभोक्तालाई पायक पर्ने स्थान खोजिरहेका छौँ, सम्भवत एक साताभित्र टुङ्गो लाग्छ उहाँले भन्नुभयो । जिल्लामा विसं ०५४÷०५५ देखि नै कृषकले आइपिएम प्रविधिबाट विभिन्न थरीका तरकारीको उत्पादन गर्दै आएका छन् । नेपाल सरकारको बजेटमार्फत ठूलो परिमाणमा जिल्लामा आइपिएम कार्यक्रम सञ्चालन हुन लागेको छ, कुशादेवी, महादेवस्थान, शङ्खु र ¥यालेमा सो प्रविधिबाट खेती हुने गरेको छ ।
यहाँबाट उत्पादन हुने तरकारीको बिक्री वितरणका लागि काठमाडौँस्थित कालिमाटी तरकारी बजारमा बिक्री कक्षसमेत खोलिन लागेको छ । कृषि विभागअन्तर्गत बाली संरक्षण निर्देशनालयको अगुवाइमा काभ्रेपलाञ्चोक, धादिङ र चितवनमा आइपिएम प्रविधिबाट तरकारी खेतीको उत्पादन गर्ने लक्ष्य लिइएको छ । जिल्लाको नौ हजार ६०२ हेक्टर क्षेत्रफलमा भएको व्यावसायिक तरकारी खेतीबाट वार्षिक एक लाख ६२ हजार ७५२ मेट्रिकटन तरकारी उत्पादन हुँदै आएको छ । यसबाट वार्षिक रु चार अर्ब बराबरको कारोबार हुने गरेको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ १, २०७१