शुक्रबार, चैत्र १६, २०८०

खाद्यान्न असुरक्षाले विकराल समस्या

बेरुत, १ भदौ । सिरियामा जारी द्वन्द्वको कारण सिरियाबाट विस्थापित ७४ प्रतिशत परिवार खाद्यान्न सामग्रीको असुरक्षाको पीडित भएका छन् । लेबनानमा रहेको संयुक्त राष्ट्र सङ्घीय शरणार्थी सम्बन्धि उच्च आयोग (युएनएचसीआर) ले शनिबार सो खुलाशा गरेको छ । शरणार्थीहरूलाई प्रदान गरिएको मानवीय सहयोग मध्य ४१ प्रतिशत खाद्य सामाग्रीले ओगटेको छ । तर प्रदान गरिएको खाद्य सामग्रीको हिनामिना र लुटपाट बढेकाले शरणार्थीहरू पीडित भएका छन् । उक्त कुरा युएनएचसीआरबाट प्रकाशित शरणार्थी स्थितिको सम्बन्धी प्रतिवेदनमा जनाइएको छ ।
उक्त प्रतिवेदनमा पहिचान भएका कुल शरणार्थीको सङ्ख्या मध्ये ७० प्रतिशत परिवारको दर्ता भएको छ । उनीहरूले नियमित खाद्य कुपन ‘फुड भौचर’ पाइरहेका छन् । ४१ प्रतिशतले घरायसी भाँडाकुडा र सरसामान पाइरहेका छन् २५ प्रतिशत नियमित स्वास्थ्य उपचार सेवाबाट लाभान्वित रहेका जनाइएको । प्रतिवेदनमा ४० प्रतिशत परिवारको प्रतिपरिवार सातजना वा सो भन्दा बढी सङ्ख्या रहेका छन् । ६५ प्रतिशत परिवारका पाँचवर्ष भन्दा मुनिका बालबालिका समेत रहेको जनाइएको छ । लेबनानमा सिरियाबाट विस्थापित भएका शरणार्थी सङ्ख्या ११ लाख नाघिसकेको छ यस वर्षको अन्त्यसम्म यो सङ्ख्या १५ लाख पुग्ने अनुमान समेत गरिएको युएनएचसीआरको पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ । -सिन्ह्वा

प्रकाशित मिति: आइतवार, भदौ १, २०७१