मङ्लबार, बैशाख ११, २०८१

बाढीले ५० बिघामा पालिएको माछा बगायो

चितवन, १ भाद्र । । अविरल परेको बर्षाका कारण आएको बाढीका कारण बालीनाली मात्र होइन अन्य कृषि उपज उत्पादन पनि क्षति पुगेको छ । अन्य जिल्लाहरुमा जस्तै बाढीका कारण चितवनका विभिन्न स्थान गरी ५० विघा क्षेत्रफलमा पालिएका माछा बगाएको छ ।

नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अनुसार २५ जना किसानहरुको माछा पोखरीमा बाढीले क्षति पु¥याएको भएपनि कति मात्रामा माछाहरु बगायो भन्ने विवरण सङ्कलन भइरहेको जनाएको छ । चितवनको गुञ्जनगर क्षेत्रका माछा पोखरीहरु बढी प्रभावित भएको र सोही क्षेत्रका धेरै माछाहरु बाढीले बगाएको अनुमान संघको छ ।
सो क्षेत्रमा मात्रै करिब ४० बिघा र माडी तथा पूर्वी चितवनमा गरी १० बिघाको माछा बगाएको पनि संघले जनाएको छ । चितवन माछाको समेत पकेट क्षेत्र बन्दै गएका माछा पालन व्यवसाय केही मात्रामा फस्टाईरहेका बेला बाढीका कारण माछा बगाएपछि किसान चिन्तित भएका छन् । जिल्ला कृषि विकास कार्यालय चितवनले माछा बगाएको क्षेत्रमा क्षतिको विवरण सङ्कलन भइरहेको पनि जानकारी दिएको छ । अघिल्लो वर्ष नेपाल सरकारले माछापालनको विस्तारका लागि अनुदानसहितको कार्यक्रम ल्याएपछि माछापालन थपिएको थियो । चितवनमा करिब एक हजार २०० बिघामा माछापालन गरिएको जनाइएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ १, २०७१