शनिबार, बैशाख १५, २०८१

पूर्वाञ्चलमा ५८ प्रतिशतमा रोपाइँ

विराटनगर, १७ साउन । धानबाली रोपाइँको महत्वपूर्ण समय बित्न लाग्दा पनि पूर्वाञ्चलमा अहिलेसम्ममा ५८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । तराईको अन्न भण्डारका रुपमा स्थापित सप्तरीमा सबैभन्दा कम ३८ प्रतिशत जग्गामामात्र रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा बढी झापामा ७० प्रतिशत जग्गामा रोपाइँ सम्पन्न भएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । पूर्वाञ्चलका पाँच लाख १३ हजार ४५६ हेक्टर जग्गामा धानखेती गरिन्छ । सोमध्ये दुई लाख ६१ हजार ८६३ हेक्टर जग्गामा रोपाइँ सम्पन्न भएको छ भने दुई लाख ५१ हजार ५९३ हेक्टर जग्गामा अझै रोपाइँ हुन बाँकी छ । लामो समयदेखि खेतीयोग्य मनसुनी वर्षा नहुँदा असिञ्चित क्षेत्रका अधिकांश जग्गामा रोपाइँ हुनसकेको छैन भने कतिपय ठाउँमा रोपिएका धानबाली पनि सुक्न थालेको छ । रोपाइँ हुन बाँकी ठाउँमा अहिले किसानले सिँचाइको वैकल्पिक व्यवस्था गरेर रोपाइँ गरिरहेका छन् । कतिपय ठाउँमा सो सुविधा पनि नरहेकाले खेत बाँझो रहने सम्भावना अत्यधिक देखिन्छ । यस सम्बन्धमा क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका कृषिप्रसार अधिकृत रामसोगारथ साह उन्नत जातका धानबालीको रोपाइँको समय अझै कम्तीमा एक साता रहेको र अगहनी धानबालीको रोपाइँका लागि साउन महिनाभर उपयुक्त समय रहेको बताउनुहुन्छ ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०७१