शनिबार, बैशाख १५, २०८१

जथाभावी विषादीको बिक्री वितरण नगर्न चेतावनी

बनेपा, १४ साउन । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले यहाँका एग्रोभेट सञ्चालकलाई जथाभावीरुपमा रासायनिक  विषादीको बिक्री वितरण नगर्न चेतावनी दिएको छ । उनीहरुलाई पञ्जीकरण नगरिएका र प्रतिबन्धित विषादीको समेत बिक्री वितरण गरेको आरोप लागिरहेको बेला सो चेतावनी दिइएको हो । जीवनाशक विषादी ऐन, २०४८ र नियमावली २०५० को पहिलो संशोधन २०६४ अनुसार म्याद नाघेका विषादीको बिक्री वितरण भएको फेलापरे एग्रोभेट सञ्चालकको पसल नियन्त्रणमा लिनुका साथै कानुनी कारबाही अघि बढाइने सो कार्यालयले जनाएको छ । कृषि कार्यालयले विषादीको बिक्री वितरणलाई व्यवस्थित गर्न नियमावली समेत तयार गरेको छ । हामीले दिएको निर्देशन लागू नभए कारबाही गर्छौं कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ कृषि अधिकृत सहदेवप्रसाद हुमागाईंले भन्नुभयो । पाचँखाल बीउबिजन भण्डारका सञ्चालक सरोज सापकोटाले सरकारले जैविक विषादीको आयातमा कर छुट दिए त्यसले जैविक विषादीको प्रयोगमा सघाउ पुग्ने उल्लेख गर्दै एग्रोभेटको प्रभावकारी अनुगमन हुनुपर्ने बताउनुभयो । जिल्लामा झन्डै ६० वटा एग्रोभेट दर्तामा रहेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७१