बिहिबार, बैशाख १३, २०८१

कृत्रिम पशु प्रजनन केन्द्र स्थापना

चन्द्रनिगाहपुर (रौतहट), १५ साउन । चन्द्रपुर नगरपालिकास्थित गैँडाटार गाउँमा पुश कृत्रिम गर्भाधान गराउने सामुदायिक पशु प्रजनन केन्द्र (एआई सेन्टर ) स्थापना भएपछि किसान हर्षित भएका छन् । जिल्ला पशु सेवा कार्यालयको सहयोगमा करिब रु तीन लाखको सहयोगमा गैँडाटार र विश्रामपुरलगायत जिल्लाको १० ठाउँमा एआई सेन्टर स्थापना गरिएका हुन् । कृत्रिम गर्भाधानबाट नस्ल सुधार भई दुग्ध उत्पादन बढ्ने, स्थानीय जातको पशु हटाई उन्नत जातको पशुपालन गर्न किसानको मलोबल बढ्ने भएकाले विभिन्न गाविसमा सेन्टर स्थापना गरेको जिल्ला पशु कार्यालयका प्रमुख अरुणकुमार पाण्डेले बताउनुभयो । एआई सेन्टर गाउँमा स्थापना भएपछि पशुपालक किसानलाई सुविधा पुगेको स्थानीय पशुपालक लीलाधर तिमल्सेनाले बताउनुभयो । पशु गर्भाधान गराउनका लागि साँढे तथा राँगा नपाइने समस्या झेल्दै आएका गैँडाटारका किसानले एआई सेन्टर स्थापनापछि सुविधा पुगेको बताएका छन् ।रौतहटको उत्तरी भेग पशुपालनका लागि उचित ठाउँ भएकाले घाँसखेती, गोठसुधार लगायत विभिन्न कार्यक्रम सञ्चालन गरिएको पशु विकाश अधिकृत खड्ककुमार मैनालीले बताउनुभयो ।

प्रकाशित मिति: बिहिबार, साउन १५, २०७१