बुधबार, बैशाख १९, २०८१

कुलोको बाँध बगेपछि बेलडाँडीका बासिन्दा सिँचाइ सुविधाबाट वञ्चित

कञ्चनपुर, ११ साउन । कुलोको बाँध बगेपछि कञ्चनपुरको झलारी–४ बेलडाँडीका बासिन्दा सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । अनौखी खोलामा रहेको कुलोको पक्की बाँध बाढीले बगाएपछि यहाँका बासिन्दा सिँचाइ सुविधाबाट वञ्चित भएका हुन् । कुलो बगेपछि व्यावसायिक तरकारीखेतीमा संलग्न यहाँका आठ दर्जनभन्दा बढी कृषक मार्कामा परेका छन् । सहकारीबाट कर्जा लिएर तरकारीखेती गर्दै आएका कृषक कालीप्रसाद चौधरीले कुलो बगेपछि तरकारीखेतीमा सिँचाइ गर्न नपाउँदा उत्पादन घट्ने चिन्ता बढेको बताउनुभयो । बाँध बगाएर नदी गहिरोमा बग्न थालेकाले स्थानीय बासिन्दाले मर्मत गरेर कुलो सञ्चालन गर्न सक्ने अवस्था नभएको बेलडाँडी सिँचाइ समितिका अध्यक्ष ओमप्रकाश भण्डारीले बताउनुभयो । तीन किलो मिटर टाढाबाट ल्याइएको कुलोमा १३५ परिवार निर्भर रहेका थिए । ०६१ सालमा सञ्चालनमा ल्याइएको कुलो झन्डै रु ७५ लाखको लागतमा निर्माण गरिएको थियो ।  – कृषि साप्ताहिक

प्रकाशित मिति: आइतवार, साउन ११, २०७१