बिहिबार, बैशाख ६, २०८१

अन्नबालीको विकल्पमा सुन्तलाखेती

बाबियाचौर (म्याग्दी), ११ साउन । म्याग्दीका किसानले अन्नबालीको विकल्पमा फलफूलखेती गर्न थालेका छन् । अन्नबाली खेती गर्दा लागत बढी पर्ने तर उत्पादन बढ्न नसक्ने, नगद आम्दानीको न्यून सम्भावना एवम् उपजले बजार नपाउने तथा मजदुर अभाव हुन थालेपछि किसानले अन्नबालीको विकल्पमा फलफूलखेती गरेका हुन् । बेनी नगरपालिकाअन्तर्गत सिङ्गा, बरङ्जा, भकिम्ली, अर्मन, हिस्तान, दाना, बिम, ताकम, देविस्थानलगायत गाविसका किसानले पछिल्लो समय अन्नबालीको विकल्पमा सुन्तलाखेती विस्तार गरेका छन् । अनुकूल भौगोलिक वनावट र वातावरण, उच्च बजार सम्भावना, कम लगानीमा छिटो नगद आम्दानी गर्न सकिने भएकाले कृषकले अहिले धान, मकै, कोदो, गहुँखेती हुने खेतबारीमा सुन्तलाखेती गरेको बास्कुनाका कृषक नरबहादुर हुमेनले बताउनुभयो । बास्कुनाका किसानले यही मौसममा डेढ हेक्टर अन्नबाली हुने जमिनमा चार हजार ५०० सुन्तला लगाएका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०६९/७० सम्ममा ५८८ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको म्याग्दीमा यस वर्ष थप ७४ हेक्टर जमिनमा २४ हजार सुन्तलाका बिरुवा रोपिएको छ ।
जिल्लाभरि नै फलफूलखेतीमा देखिएको किसानको आकर्षणले वैदेशिक रोजगारीका कारण जनशक्ति अभावमा बाँझिएका गाउँका उर्वर खेतबारी उपयोग भई किसानको आयस्तर वृद्धि र ग्रामीण अर्थतन्त्रमा टेवा मिल्ने सम्भावना बढेको छ । सुन्तलासँगै पछिल्लो समय म्याग्दीका किसान व्यावसायिक केराखेतीतर्फ पनि आकर्षित भएका छन् । ग्रामीण सडक नियमित सञ्चालन नहुनु र पर्याप्त सिँचाइ सुविधाको अभाव म्याग्दीको फलफूलखेतीमा चुनौतीका रूपमा देखिएको बास्कुनाका कृषक भीम गुरुङले बताउनुभयो ।

प्रकाशित मिति: आइतवार, साउन ११, २०७१