शुक्रबार, बैशाख १४, २०८१

कृषि विभागमा झोक्र्याउँदै गोलभेंडा फाल्ने नेता

काठमाडौं, ५ श्रावण । आफूले उचित मूल्य नपाएको भन्दै कालीमाटी चोकमा गोलभेंडा फ्यालेर आन्दोलनमा उत्रिएका टनेल व्यवसायी संघर्ष समितिको नामबाट कृषि मन्त्री हरिप्रसाद पराजुलीलाई दिएको ३ दिने अल्टिमेटमले हावा खाएको छ । संघर्ष समितिले सरकारले आफूहरुले उत्पादन गरेको गोलभेंडाको मूल्य तोकिदिनु पर्ने, उत्पादित गोलभेंडा निर्यात गर्ने व्यवस्था मिलाउनु पर्ने माग राख्दै मन्त्री पराजुलीलाई ज्ञापन पत्र बुझाउँदै माग पूरा नभए काठमाडौं उपत्यकामा तरकारी भित्र्याउन नदिने चेतावनी दिएका थिए ।
तर संघर्ष समितिले दिएको चेतावनीको ३ दिने अल्टिमेटम नाघिसक्दा पनि उनीहरुको माग भने सम्वोधन हुन सकेको छैन । ‘आफू ताक्छ मुडो बन्चरो ताक्छ घुँडो’ भने झै कृषि विकास मन्त्रालयले कालीमाटीमा फालिएका गोलभेंडामा बिषादी प्रयोग हुन सक्ने शंका र व्यवसायीको अल्टिमेटमलाई हेर्ने हो भने कतै फालिएका गोलभेंडामा बिषादी प्रयोग भएको हो कि भन्ने नजिक पुग्न सकिएको मन्त्रालय स्रोतले बताएको छ ।
स्वरोजागर कोष लगायत अन्य सरकारी निकायबाट लिइको ऋण मिनाहा गराउने गलत मनसायले गोलभेंडा फाल्ने व्यवसायीहरु यतिखेर रुनु न हाँस्नुमा पुगेको कृषि विकास कार्यालयका प्रमुख शरदचन्द्र श्रेष्ठले बताउनु भएको छ ।
सरकारसँग नाजायत माग राखेर गोलभेंडा सडकमा फाल्ने कार्य गलत भएको टनेल व्यवसायमा सक्रिय रहेकी नायिका विनिता बरालको भनाई छ । सरकारको कुनै पनि निकायलाई जानकारी नगराई आफू खुशी गोलभेंडा फाल्नु गलत रहेको उनको तर्क छ । गोलभेंडा सडकमा फाल्ने नेतृत्व गरेको टनेल व्यवसायी संघर्ष समितिका संयोजक खोजराज कट्वाल लगायतका केही व्यवसायी यो समाचार तयार गरिरहँदा कृषि विभाग हरिहरभवनको मोटरसाईकल पार्किङ्गमा झोक्राएर बसिरहेका देखिन्छन् ।

प्रकाशित मिति: सोमवार, साउन ५, २०७१