मङ्लबार, बैशाख २५, २०८१

भारतीय प्याजको मूल्य २५ प्रतिशतले बढ्यो

जनकपुरधाम, १ श्रावण । नीतिगत दुरदर्शीताको अभावका कारण आयात प्रतिस्पर्धा गर्न नसक्दा छिमेकी मुलुक भारतबाट आयातित प्याजको मूल्य स्थानीय बजारमा २५ प्रतिशतले बढेको छ । भारतमा यस वर्ष प्याज उत्पादनमा ह्रास आएकाले यसको प्रत्यक्ष असार नेपाली उपभोक्तामा पर्न गएको हो । धनुषामा वार्षिक रु चार करोड बराबरको प्याज छिमेकी मुलुक भारतबाट आयात हुने गरेको जनकपुर आलु प्याज व्यवसायी सङ्घले जनाएको छ । आव २०७०÷७१ मा भारतको नासिक र पटनाबाट रु चार करोड मूल्य बराबरको दुई हजार टन प्याज भिठ्ठामोड नाकाबाट जनकपुर बजारमा भित्रिएको सङ्घका अध्यक्ष अलाउद्दिन राइनले बताउनुभयो । स्वदेशमै प्याज उत्पादनमा वृद्धि गराएर आयात दर घटाउने उद्देश्यले सरकारले कार्यान्वयनमा ल्याएको ‘मिसन ओनियन’ कार्यक्रम यस वर्षदेखि बन्द रहेकाले धनुषाका किसान प्याज खेतीतर्फ आकर्षित नभएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार धनुषामा किसानले आव २०६९÷७० मा जम्मा ८०५ हेक्टर क्षेत्रफलमा प्याज खेती गरी १२ हजार २७० मेट्रिक टन उत्पादन गरेका थिए । यहाँ प्याजको उत्पादकत्व प्रतिहेक्टर १५.२४ मेट्रिक टन रहेको छ ।

प्रकाशित मिति: बिहिबार, साउन १, २०७१