सोमवार, बैशाख २४, २०८१

पारिवारिक खेती दिवस मनाइयो

बनेपा, १२  असार । काभ्रेपलाञ्चोकको धुलिखेलमा हिजो अन्तर्राष्ट्रिय पारिवारिक खेती दिवस २०१४ मनाइएको छ । कृषि विकास समिति काभ्रेले आयोजना गरेको कृषि अभिमुखीकरण कार्यक्रममा सरोकारवालाले कृषि फर्मलाई प्राथमिकतामा राखेर विषादिरहित खेतीमा जोड दिनु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले कृषि कर्मले आत्मसन्तुष्टि दिएको उल्लेख गर्दै नेपाली समाज आत्मनिर्भरताबाट परनिर्भरतातर्फ उन्मुख भएको बताउनुभयो । कृषि मन्त्रालयका उपसचिव द्रोणराज काफ्लेले कृषि कार्यबाट आम्दानी लिनुका साथै स्वस्थ्य उत्पादनको उपभोग गर्न सकिन्छ भन्नुभयो । केन्द्रीय कृषि सहकारी सङ्घका महाप्रबन्धक रुद्र भट्टराईले कृषि क्षेत्रको आम्दानी निरन्तर घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै स्थानीयस्तरमा रहेका फर्म लोप हुन लागेको बताउनुभयो । कृषि विकास कार्यालय काभ्रेका प्रमुख सहदेव हुमागाईँले पारिवारिक वर्ष सफल बनाउन कृषि औजार, कृषि सामाग्री, मौसमी तथा बेमौसमी तरकारीको बीउमा अनुदानलगायतका कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै कृषि उत्पादन बढाउन साना सिँचाइ, सहकारी खेतीमा समेत जोड दिएको उल्लेख गर्नुभयो । सो अवसरमा वारी नहुनेले घरको छतमा करेसावारी बनाउन, गमला, बोरा वा प्लाष्टिकमा भए पनि माटो भरेर खेती गर्न सुझाव दिइएको थियो ।  -कृषि साप्ताहिकबाट

प्रकाशित मिति: बिहिबार, असार १२, २०७१