शुक्रबार, बैशाख १४, २०८१

तीब्बतबाट याक आयात गरिने

काठमाडौं, ११ असार । कृषि विकास मन्त्रालय, पशु सेवा विभाग अन्तर्गतको याक बिकास फार्म, स्याङ्वोचे, सोलुलाई थप सुदृढ गर्ने क्रममा हिमाली आयोजनाले चीनको स्वशासित प्रदेश तीब्बतवाट ५ वटा याक र २५ वटा नाक आयात गर्ने भएको छ । करीव ४० वर्ष पहिले २०३२ सालमा तीब्बतवाट ४० वटा याक ल्याई शुरु गरिएको याक विकास फार्ममा स्थानीय छनौट गरेका याक तथा नाक पालन गर्दै आइएको छ र हाडनाता प्रजननका नकारात्मक असर कम गर्न तथा नेपालको याकको नश्ल सुधार गर्न याक आयात गर्नु जरुरी भएको बताइएको छ ।
hialiकृषि विकास मन्त्रालय तथा लासा स्थित महावाणिज्य दूतावासको पहल पश्चात चीन सरकारले याक निर्यात गर्ने भए पछि आयोजना निर्देशकको नेतृत्वमा हालै एक टोली तीब्बत पुगी याक–नाक आयात गर्ने सम्झौता गरेको छ ।
नेपाल आयात गरिने याक छनौट गरी खरीद सम्झौता र ढुवानी व्यवस्था गर्न तीब्बतको भ्रमण हिमाली आयोजनाका आयोजना निर्देशक डा. अमर वहादुर शाहको नेतृत्वको टोली गएको थियो । जसमा बरिष्ठ पशु विकास अधिकृत श्री दामोदर न्यौपाने, आयोजनाका सूचना तथा सञ्चार अधिकृत श्री कमल पौडेल र ना.प.से.प्रा. श्री राम ललन यादवको संलग्नता रहेका थियो । उक्त टोलीले आफ्नो साता लामो तीब्बत बसाईको क्रममा नेपाल आयात गरिने याक छनौट गरी गणतन्त्र चीनको तीब्बत स्वशासित क्षेत्रको कृषि तथा पशु पालन विभागसँग खरीद सम्झौता गर्नुको अलावा याक च्यांग्रा र भेडा पालन सम्बन्धी अध्ययन अवलोकन र सम्बन्धीतहरुसँग छलफल समेत गरेको थियो ।
प्रति याक, १०,००० युयान मूल्यमा खरिद गरिने ३० वटा याक–नाक याक विकास फार्म, स्याङवोचेसम्म ल्याई पु¥याउँदा करिव ६० लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ भने ती याकहरु आषाढ अन्तिम सातामा फार्ममा पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार ११, २०७१