शुक्रबार, बैशाख १४, २०८१

बीउ किन्न किसानलाई नौ लाख अनुदान

बाबियाचौर (म्याग्दी), १० असार । जिल्ला कृषि विकास कार्यालय, म्याग्दीले यस वर्ष किसानलाई तरकारीको बीउ खरिद गर्न रु नौ लाखभन्दा बढी अनुदान उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०७०/७१ को व्यावसायिक बेमौसमी तरकारीखेती पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत किसानलाई व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित गराउन समूहमार्फत अनुदान उपलब्ध गराएको कार्यालयले जनाएको छ । विभिन्न आठ समूह तथा सहकारीमा आबद्ध कृषकलाई प्रतिसमूह रु एक लाख १४ हजारका दरले रु नौ लाख १२ हजार उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । व्यावसायिक तरकारीखेतीमा कृषकको सहभागिता वृद्धि गरी तरकारी आयात प्रतिस्थापन गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमअनुसार किसानलाई व्यावसायिक बनाउन बीउ खरिदका लागि अनुदान वितरण गरेको अधिकृत श्रेष्ठले बताउनुभयो । बाबियाचौर, सिँगाको सुर्केमेला, भकिम्ली, बिम, रत्नेचौर, ज्यामरुककोट, दाना र राम्चे गाविसमा गठन भएका कृषक समूहमा २० देखि २५ जना किसान आबद्ध छन् । जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको अनुदानमार्फत समूहका सदस्यलाई तरकारीको बीउ खरिद गरी वितरण गरेको ज्यामरुककोट कृषि सञ्जालका अध्यक्ष शोवित शर्माले बताउनुभयो । बीउ खरिद गर्न अनुदान पाएपछि नयाँ किसान बढ्नाका साथै पुरानाले तरकारीखेतीलाई विस्तार गरेका अध्यक्ष शर्माले बताउनुभयो । तरकारीखेती विस्तार गर्न कार्यक्रमले कृषकलाई प्रोत्साहित गरेको रत्नेचौर कृषि समूहका कमल थापाले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयका अनुसार प्रतिसमूह एक सय रोपनीका दरले कार्यक्रममार्फत व्यावसायिक तरकारीखेती विस्तार भएको छ । म्याग्दीमा स्थानीय उत्पादन अपुग भएकाले पर्वत, कास्की, चितवन र धादिङलगायतका जिल्लाबाट बर्सेनि करोडौँ मूल्यको तरकारी आयात हुने गरेको छ । बाहिरबाट तरकारी आयात कम गरी स्थानीय कृषकको आयआर्जन वृद्धि गर्न पकेट क्षेत्र विस्तार गरिएका वरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठले बताउनुभयो । -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, असार १०, २०७१