शुक्रबार, बैशाख ७, २०८१

पहिलोपटक रेन्बो ट्राउट माछापालन व्यवसाय सञ्चालन

trout-fishफलेवास (पर्वत), १० असार । कुनैबेला मोदीका असला माछाको नामले परिचित पर्वतमा धौलागिरि अञ्चलमै पहिलोपटक रेन्बो ट्राउट जातको माछा व्यवसाय सञ्चालनमा आएको छ । धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमध्ये पर्वतमा पहिलोपटक रेन्बो ट्राउट जातको माछापालन व्यवसाय सञ्चालनमा ल्याइएको हो । पछिल्लो समयमा अन्य जातको माछाभन्दा बढी बजार क्षेत्र ट्राउट माछाले ओगट्दै गएपछि पर्वतमा पहिलोपटक यसको व्यावसायिक पालन सुरु गरिएको हो । कुश्मा बजारको नमुना बोर्डिङका प्राचार्य यमप्रसाद शर्माले पातीखोला रेन्बो ट्राउट माछापालन व्यवसाय सञ्चालन गर्नुभएको हो । उहाँले क्याङ र देउपुर गाविसको सिमानामा पर्ने पातीखोलामा व्यवसाय सञ्चालन गर्नुभएको छ । करिब रु ३२ लाखको लागतमा ट्राउट माछाको व्यवसाय सुरु गरेको शर्माले बताउनुभयो । छिमेकी जिल्ला कास्कीको भुर्जुङखोला, सार्दी खोला, त्रिशूलीलगायतका नदी आसपासमा यसको व्यवसाय गरेको र आम्दानीसमेत लगानीअनुरुप भइरहेको पाएपछि आफूले ट्राउट माछापालन सञ्चालन गरेको शर्माले बताउनुभयो । “माछाका पारखीलाई अन्य माछाभन्दा भिन्नै किसिमको स्वाद दिएर व्यवसायलाई अघि बढाउने हेतुले ट्राउट माछा पाल्न सुरु गरेको हुँ,” उहाँले भन्नुभयो, “अबको केही महिनामा माछा बजारमा पुग्छ ।”
माछा उत्पादनमा प्रख्यात मोदीखोलामा विभिन्न हाइड्रोपावर सञ्चालनमा आएर माछा उत्पादनसमेत घट्दै गएपछि माछाको माग पूर्ति गर्ने योजनासहित व्यवसाय थालेको उहाँले बताउनुभयो । रेन्बो ट्राउट जातको माछा सन् १९८८ मा जापानबाट नेपाल भित्र्याइएको हो । त्यस बेला नै सामान्य रुपमा व्यवसाय सञ्चालन हुँदै आए पनि उपयुक्त प्रविधिको अभावमा व्यवसाय फस्टाउन नसकेको र पछिल्लो समयमा कृषकहरू ट्राउट माछापालनप्रति उत्सुकता देखाएको मत्स्यपालन विकास केन्द्र पोखराका प्रमुख जयदेव विष्टले जानकारी दिनुभयो । ट्राउट माछाका लागि २० डिग्रीभन्दा कम तापक्रम भएको सफा र कञ्चन पानी आवश्यक पर्ने भएकाले जुनसुकै कृषकले चाहेर पनि व्यवसाय सञ्चालन गर्न नसक्ने उहाँले बताउनुभयो । शर्माले निजी प्रयासमा सञ्चालन गरेको उक्त व्यवसायको मत्स्यपालन तथा विकास केन्द्र पोखराको अनुसन्धान टोलीले हालै निरीक्षणसमेत गरेको छ । निरीक्षणका क्रममा अन्य फर्मभन्दा पातीखोलामा सञ्चालित उक्त फर्म हालसम्मकै उत्कृष्ट देखिएको छ । केन्द्रका प्रमुख विष्टले पानीको तापक्रम, फर्म सञ्चालन भइरहेको स्थान र पानीमा हुनुपर्ने स्वच्छता उत्कृष्ट भएको बताउनुभयो । उक्त फर्म सञ्चालनका लागि जिल्ला कृषि विकास कार्यालयले समेत आवश्यक सहयोग तथा प्राविधिक परामर्श प्रदान गर्दै आएको छ । शर्माले सञ्चालन गरेको व्यवसायप्रति सन्तुष्टि जनाउँदै जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले अन्य उपयुक्त स्थानहरू खोजेर कृषकलाई रेन्बो ट्राउटको व्यावसायिक पालनमा अग्रसर गराउने बताउनुभयो । अहिले पर्वतमा विशेषतः उत्पादनशील क्षेत्रमा किवीखेतीलाई प्राथमिकता दिइरहेको बताउँदै रेग्मीले रेन्बो ट्राउट पालनलाई पनि आगामी वर्ष व्यावसायिक रुपमा थालनी गर्ने योजना रहेको जानकारी दिनुभयो । शर्माले १० लेनमा झन्डै ३० हजार माछाका भुराहरू राखेर व्यवसाय सञ्चालन गरेका छन् । यसरी राखिएका भुराहरू असोजसम्म बजारमा बिक्रीका लागि उपयुक्त हुने उहाँले बताउनुभयो । अहिले रेन्बो ट्राउट जातको माछाको प्रतिकेजी बजार मूल्य रु ८०० देखि एक हजारसम्म रहेको छ । -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, असार १०, २०७१