बिहिबार, बैशाख २०, २०८१

जनताहरु दिनदिनै घरवार विहीन हुँदै, ज्यान गुमाउँदै : मुख्य सचिव

काठमाडौं,४ असार । ‘काठमाडौंमा बसेर हरिया तरकारी खाने जनताहरु दिनदिनै मरिरहेका छन्, दिनदिनै घरबार विहिन हुन खोजिरहेका छन्’ मुख्य सचिव लीलामणि पौडेलेको यो भनाईले कार्यक्रममा उपस्थित व्यक्तिहरुलाई स्तव्ध बनायो । काठमाडौंमा रहेको कालीमाटी फलफूल तथा तरकारी बजारमा बाली संरक्षण निर्देशनालयद्धारा आज आयोजित द्रुत बिषादी विश्लेषण प्रयोगशाालाको उद्घाटन गर्दै मुख्य सचिव पौडेलले सो कुरा बताउनु भएको हो । बिषादी प्रयोग गरिएका हरिया तरकारी जन्य पदार्थको प्रयोगबाट मानव स्वास्थ्यमा क्यान्सर, किड्नी फेल लगायतका रोगहरु लागेकाले ती रोगहरु उपचार गराउँदा धेरै जनता घरबार विहिन भएको मात्र नभई धेरैले ज्यान समेत गुमाउनु परेको तीतो यथार्थ कार्यक्रममा उहाँले पोख्नु भयो ।
bisadiआफू रिटायर्ड हुनु भन्दा अगाडि नै तरकारी तथा फलफूल जन्य पदार्थमा बिषादी प्रयोगको अन्त्य भईसक्ने गरी काम गर्न निर्देशन दिँदै उहाँले खाद्य पदार्थ उत्पादन विशेष गरी हरिया तरकारी तथा फलफूलमा बिषादी प्रयोग न्यूनिकरण गर्न किसानहरुसम्म पुग्ने गरी जनचेतना अभिबृद्धि गर्न समेत आग्रह गर्नु भयो ।
पाँचखालमा भान्जाले आलु लैजान खोज्दा बेच्ने आलु र आफूले प्रयोग गर्ने आलु फरक रहेको प्रसंग कोट्याउँदै मुख्य सचिव पौडेलले काठमाडौंमा बेच्न राखिएका तरकारी जन्य पदार्थमा अत्यधिक बिषादी प्रयोग भएको र ती खान अयोग्य तरकारी र फलफूल विक्री गर्नेलाई जस्तो सुकै कार्वाही गर्न पनि तयार हुने बताउँदै न्यूनिकरण गर्न आग्रह गर्नु भयो । यदि अत्यधिक बिषादी प्रयोग गरिएका तरकारी तथा फलफूल विक्री गरे कडा कार्वाही गर्न निर्देशन समेत दिनु भयो ।
प्रयोगशाला उद्घाटनका अवसरमा कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले तरकारी तथा फलफूलको बिषादी जाँचका लागि प्रयोगशालामा प्रयोग गरिन केमिकल अत्यधिक महंगो पर्ने भएकाले लागत सहभागीताका आधारमा काम शुरु गर्न निर्देशन दिनु भयो । जोखिम युक्त काम गर्ने कर्मचारीलाई सुविधा दिने पक्षमा आफू प्रतिवद्ध रहेको समेत उहाँले बताउनु भयो ।
आज उद्घाटन गरिएको प्रयोगशालाबाट कालीमाटी तरकारी तथा फलफूल बजार भित्रने तरकारीमा प्रयोग गरिएको बिषादीको मात्रा आधा घण्टामा नै चेकजाँच गरी खान अयोग्य तरकारी विक्रीमा रोक लगाइने बाली संरक्षण निर्देशनालयले जनाएको छ । यो प्रयोगशाला स्थापनाले आम उपत्यकाबासीले बिषादी प्रयोग नभएका वा कम मात्रामा प्रयोग गरिएका तरकारी तथा फलफूल खान पाउने संकेत देखिएको छ ।

प्रकाशित मिति: बुधबार, असार ४, २०७१