शुक्रबार, बैशाख ७, २०८१

बङ्गुरपालन व्यवसायमा रु दुई करोडको लगानी

बनेपा, ३ असार । काभ्रेपलाञ्चोक जिल्लामा बङ्गुरपालन व्यवसायमा झन्डै रु दुई करोड लगानी भएको छ । व्यावसायिक रुपमा बङ्गुरपालन गरेका कृषकले ल्यान्डरेस, ड्युरोक, ह्याम्पसायर, योर्कसायर जातका उन्नत र च्वाचे र हुर्रा जातके स्थानीय बङ्गुरपालन गरेको जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्लाको उग्रचण्डीनाला, कुशादेवी, नाल्दुम, घुम्लुटार, दोलालघाटलगायतका ३५ गाविसमा भएको व्यावसायिक बङ्गुरपालनबाट करिब १०० फर्मका १०० कृषक आश्रित रहेका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो । उहाँले छोटो समयमा नै मासु खान लायक हुने र खेर गएका वस्तुको उपयोग हुने कारणले गर्दा बङ्गुरपालन व्यवसायमा आकर्षण बढ्दै गएको बताउनुभयो । पशु चिकित्सक सापकोटाले यो व्यवसायमा छोटो समयमा धेरै आम्दानी हुने भएकाले विदेश गएका युवाको आकर्षण बढेको उल्लेख गर्नुभयो । उहाँले बङ्गुर पालेको छदेखि आठ महिनामा त्यसको मासु तयार हुने जानकारी दिँदै एउटा बयस्क भाले बङ्गुरको मासु झन्डै ४५० किलोग्राम हुने बताउनुभयो । अहिले बजारमा बङ्गुरको मासु प्रतिकिलोग्राम रु ३५० रहेको छ । दुई वर्षदेखि बङ्गुरपालन गर्दै आएका पाँचखाल–५ का यज्ञबहादुर दर्जीले बङ्गुरपालन व्यवसायमा घाटा नभएकोले यसलाई प्रवद्र्धन गर्न सके बेरोजगारी समस्याको अन्त्य हुन्छ भन्नुभयो ।
उहाँले १५ वटा खोरमा झन्डै ४० वटा ल्यान्डसायर र ह्याम्पसायर जातका बङ्गुरपालन गरेर अहिलेसम्म रु पाँच लाखबराबरको आम्दानी गरेको बताउनुभयो । बङ्गुरपालनसँगै माछा र अर्गानिक खेती गर्नुभएका कृषक दर्जीले समुदायमा काम गर्ने भावनाको विकास भएको उल्लेख गर्दै मिहिनेत र इमान्दारिताबाट मात्रै काममा सफलता पाउन सकिन्छ भन्नुभयो । उहाँले आधा रोपनी जमिन भाडामा लिएर अर्गानिक खेती र माछापालन गर्नुभएको छ । उहाँको सो फर्मलाई केन्द्रीय बङ्गुर तथा कुखुरा प्रवद्र्धन कार्यालय र जिल्ला पशुसेवा कार्यालय काभे्रपलाञ्चोकले संयुक्त रुपमा रु पाँच लाखको आर्थिक सहयोग र प्राविधिक सहयोग गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, असार ३, २०७१