शनिबार, बैशाख २२, २०८१

हानिकारक रसाइन प्रयोग गरिएका माछा भित्रिन थाले

कञ्चनपुर, २ असार । भारतबाट कञ्चनपुरमा भित्रिने वैखा जातको माछामा मानव स्वास्थ्यका लागि खतरनाक मानिने फर्मालिन रसाइनको प्रयोग हुने गरेको पाइएको छ । फर्मालिन प्रयोग गरिएका माछाको यहाँ केही महिनादेखि बिक्री–वितरणमा व्यापकता आउन थालेको हो । दैनिक पश्चिमी सीमा नाका गड्डाचौकी र जिल्लाको दक्षिणी क्षेत्र भएर अवैध रूपमा त्यतिकै मात्रामा फर्मालिन प्रयोग भएका माछा बिक्रीका लागि ल्याइने गरिएको छ । फर्मालिनको प्रयोग गरिएका माछा खानाले रिङ्गटा लाग्ने, बान्ता हुने, पखाला हुने र पेट दुख्ने समस्या देखापर्ने गरेको पशु स्वास्थ्यकर्मी दिलबहादुर ऐरले बताउनुभयो । यस्ता माछाको बिक्री–वितरणको कार्य नियन्त्रणका लागि पशुसेवा कार्यालय, क्वारेन्टाइन कार्यालय, स्थानीय निकायले चासो दिनुपर्ने भए पनि हालसम्म भारतीय माछाको निर्बाध कारोबार भइरहनु दुर्भाग्य भएको उहाँले भनाइ छ ।
बढी गरेर हानिकारक रसाइन राखिएका माछा जिल्लाको दक्षिणी क्षेत्रको खुला सीमा नाकाबाट यहाँ भित्रिने गरेका छन् । अवैध रूपमा भित्रिएका माछाको यहाँका झलारी, दैजी, गुलरिया र कैलालीको अत्तरियालगायतका बजारमा कारोबार हुने गरिएको छ । भारतको कोलकात्ताबाट भारतीय व्यापारीहरूले ती माछाहरू बिक्री–वितरणका लागि विभिन्न क्षेत्रहुँदै यहाँ पु¥याउने गरेका छन् । ग्रामीण बजार र पूर्वपश्चिम राजमार्ग क्षेत्रमा यस्ता माछाको कारोबार हुने गरिएको छ । माछालाई लामो समयसम्म ताजा बनाउनका लागि प्रयोग हुने फर्मालिन रसाइन मानव स्वास्थ्यका लागि खतरनाक मानिन्छ । यस्तो रसाइन प्रयोग भएको माछा खाएमा छाला, मुटु र मिर्गौलामा गम्भीर प्रकारको नकारात्मक असर पर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित मिति: सोमवार, असार २, २०७१