आइतवार, बैशाख २३, २०८१

कैलालीमा बिज वृद्धि कार्यक्रम विस्तार

धनगढी, २७ जेठ । कैलाली र कञ्चनपुर जिल्लामा स्थानीय कृषकस्तरमा गरिने धान र गहुँको बिज वृद्धि कार्यक्रम विस्तार भएको छ ।

बिज वृद्धि कार्यक्रममा दुई वर्षअघिसम्ममा यी दुई जिल्लामा २०÷२२ जना कृषक संलग्न हुने गरेकामा अहिले ३५÷४० जना कृषक लागेको राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड शाखा कार्यालय धनगढीले जनाएको छ । कार्यक्रम विस्तारसँगै अहिले यी दुवै जिल्लामा धान र गहुँको बिज वृद्धि कार्यक्रम झन्डै २३५ हेक्टरमा गरिन थालिएको छ ।
कार्यालयले स्थानीय कृषकस्तरमा गहुँको पाँच थरि र धानको पाँच थरि उन्नत जातको बिज वृद्धि कार्यक्रम सञ्चालन गर्दैआएको कार्यालय प्रमुख चन्द्रप्रसाद भट्टले बताउनुभयो । कार्यक्रमको विस्तारसँगै कृषकले उन्नत जातको धान तथा गहुँको बीउ प्रयोग गर्न थालेपछि पहिलेको तुलनामा यी दुई बालीको उत्पादकत्व पनि केही वृद्धि हुन थालेको कृषकको अनुभव रहेको छ ।
बीउबिजन कम्पनीले कृषकसँगको करारमुताविक उनीहरूको उत्पादन खरिद गरी अन्य कृषकलाई गुणस्तरीय बीउ बिक्री वितरण गर्दै आएको छ । कृषकस्तरमा गहुँतर्फ उन्नत जातका एनएल २९७, विजय, डब्लु पे १२०४, आदित्य र गौतम जातको बिज र धानतर्फ राधा ४, सुक्खा ३, सुक्खा १, सावित्री र सावा सववान जातको बीउ उत्पादन हुने गरेको छ ।
बिज वृद्धि कार्यक्रम विस्तार भए पनि यस वर्ष स्थानीय क्षेत्रमा उत्पादित धानको बीउ भने अपुग भएको र भैरहवाको निजी बीउ उत्पादक कम्पनीबाट धानको बीउ खरिद गरेर कृषकलाई आपूर्ति गर्नुपरेको बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २७, २०७१