शनिबार, बैशाख २२, २०८१

मल कारखाना खोल्न अध्ययन हुने

काठमाडौँ, १३ जेठ । कृषि उत्पादन वृद्धिका लागि रासायनिक मलको माग बढ्दै गएपनि सोहीअनुरुप आपूर्ति गर्न भने सकिएको छैन । त्यसैले बर्सेनि मलको अभाव हुने गरेको छ ।

सोही अभावलाई पूर्ति गर्ने उद्देश्यका साथ स्वदेशमै मल उत्पादन कारखाना सञ्चालनार्थ कृषि विकास मन्त्रालयले यसै वर्ष सम्भाव्यता अध्ययनका लागि लगानी बोर्डलाई जिम्मा दिएको छ ।
मन्त्रालयका अनुसार विगत छ वर्षको अवधिमा रासायनिक मलका लागि मात्रै रु १८ अर्ब २३ करोड पाँच लाख ४६ हजार १२० बाहिरिसकेको छ । मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलका अनुसार बिजुली नियमित आपूर्ति नहुने, लगानीको स्रोत नहुनुजस्ता कारणले स्वदेशमै कारखाना स्थापना हुन सकेको छैन । युरिया र डिएपी मलका लागि फरकफरक कारखाना स्थापना गर्नुपर्ने भएकाले पनि लगानी धेरै लाग्ने उहाँको भनाइ छ । fertilizaer
सरकारले आव २०५२÷५३ देखि रासायनिक मलका अनुदान दिँदै आएको हो तर बीचमा केही समय बन्द भएको र पुनः २०६५ सालदेखि अनुदान कार्यक्रम सुचारु गरेको हो । मन्त्रालयका अनुसार आव २०६५÷६६ मा रु ३६ करोड ६८ लाख १२ हजार १२६ बराबरको २२ हजार ४८४ मेट्रिक टन मल खरिद गरेको थियो । आव २०६६÷६७ मा रु एक अर्ब ३७ करोड पाँच लाख १८ हजार २५९ बराबरको ८१ हजार ५९३ मेट्रिक टन मल आयात भएको थियो ।
त्यस्तै आव २०६७÷६८ मा रु दुई अर्ब ४६ करोड ८६ लाख २६ हजार ८०५ बराबरको एक लाख ३१ हजार ४७९ मेट्रिक टन मल आयात गरिएको थियो ।
यसैगरी आव २०६८÷६९ मा रु तीन अर्ब १४ करोड ७८ लाख ५१ हजार ७४९ बराबरको एक लाख १२ हजार, १२६ मेट्रिक टन मल आयात गरिएको थियो । आव २०६९÷७० मा रु पाँच अर्ब १७ करोड १८ लाख ३७ हजार १८२ को दुई लाख २० हजार ५४३ मेट्रिक टन मल आयात गरिएको थियो ।
त्यस्तै चालु आर्थिक वर्षमा दुई लाख ४५ हजार मेट्रिक टन मल आयात गर्नका लागि रु पाँच अर्ब ७० करोड ९८ लाख विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको वैशाख दोस्रो सातासम्म दुई लाख २१ हजार ९५ मेट्रिक टन मल आयात गरिएको छ ।

यसैगरी सरकारले आव २०६८÷६९ देखि प्राङ्गारिक मलमा समेत अनुदानको व्यवस्था गर्दै आएको थियो । सो आवमा तीन हजार १३९ मेट्रिक टन प्राङ्गारिक मल खरिद गरेको थियो । आव २०६९÷७०मा एक हजार ८६१ मेट्रिक मल खरिद गरेको थियो । चालु आवमा १० हजार मेट्रिक टन प्राङ्गारिक मल खरिद गर्ने लक्ष्य रहेकोमा हालसम्म एक हजार ९०० मेट्रिक टन खरिद गरिसकेको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १३, २०७१