आइतवार, बैशाख २३, २०८१

नव घोषित नगरपालिका कृषि र पर्यटकीयस्थल

इलाम, २९ वैशाख । इलामको नव घोषित सूर्योदय नगरपालिका कृषि र पर्यटकीय गन्तव्यस्थल पनि हो । हर्कटेदेखि भालुखोपसम्म करिब २५ किलोमिटर मेची राजमार्गले छोएका कन्याम, फिक्कल र पञ्चकन्या गाविस नगरमा समेटिएका छन् । बढ्दो बस्ती, पूर्वाधार विकास र पर्यटकको चहलपहलका कारण यो क्षेत्र नगरपालिका घोषणा गर्नुपर्ने माग धेरै पहिलेदेखि उठ्दै आएको थियो । नगरपालिका घोषणा गरिएपछि यहाँका बासिन्दा हर्षित भएका छन् । विसं २०६८ सालमा तीन गाविसबीच सहमति भई नगर क्षेत्र निर्धारण समितिमा नामसहित नगरपालिका घोषणाका लागि प्रस्ताव गरिएको थियो । नगरको केन्द्रमा रहेको फिक्कल पूर्वकै व्यापारिक केन्द्र मानिन्छ । ‘नगरपालिका भएपछि थप विकास हुने भयो स्थानीय हरि लुइँटेल भन्नुहुन्छ, “विकासका पूर्वाधारसँगै यस क्षेत्रको विकासले अब गति लिनेमा आशावादी बनेका छौँ ।” पञ्चकन्या शैक्षिक र कृषि प्रणाली तथा कन्याम चियाका लागि प्रख्यात छ ।
कुनै बेला मुलुककै अब्बल शैक्षिक केन्द्रका रूपमा रहेको करफोक माविमा अहिले क्याम्पस सञ्चालनमा छ । यो बाहेक पञ्चकन्यामा तीन वटा माध्यमिक विद्यालय सञ्चालनमा छन् । चियासहित अदुवा, अम्लिसोजस्ता नगदेबाली र तरकारीखेतीस“गै व्यावसायिक गाईपालनले यहा“का किसानको जीवनस्तर माथि उठेको छ । “नगरपालिका घोषणा भएपछि थप विकास र कृषि केन्द्र बन्ने अपेक्षा छ”, गाविस सचिव अर्जुन थापाले भन्नुभयो । व्यापारिक केन्द्र फिक्कलको जनसङ्ख्या १५ हजार छ । कन्यामको सात हजार र पञ्चकन्याको आठ हजार जनसङ्ख्या रहेको छ । जनसङ्ख्या, आर्थिक अवस्था, पूर्वाधारको हिसाबले नगरपालिका बनाउन योग्य रहेकाले नगरपालिका घोषणाका लागि यसअघि नै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सिफारिस गरेका थियौँ, आखिरमा भएरै छाड्यो जिल्ला विकास समितिका लेखा अधिकृत दिनेश पोखरेलले भन्नुभयो । फिक्कलमा एउटा उच्च मावि सञ्चालनमा छ । निजीस्तरका माध्यमिक विद्यालय पनि यहा“ सञ्चालित छन् । केही वर्षअघि सञ्चालन भएको सिद्धिखोला योजनाका कारण खानेपानीको व्यवस्था राम्रो भएको यहाँ प्राथमिक स्वास्थ्य केन्द्र र केही निजी क्लिनिक सञ्चालनमा छन् । दार्जिलिङ र इलामदेखि ताप्लेजुङ भ्रमणका लागि जाने पर्यटकको ट्रान्जिट पोइन्टका रूपमा फिक्कल विकास भइरहेको छ । पा“च किलोमिटर मेची राजमार्गसहित अन्तु र पशुपतिनगर जाने सडक गरी यहीभित्र १४ किलो मिटर कालोपत्र सडक छ । नगर घोषणा भएका गाविसका अधिकांश वडामा मोटर चल्छ भने विद्युत् सुविधा पनि सबै वडामा पुगेको छ ।
चिया पर्यटनले चिनिएको कन्याम चियाबारीमा दैनिक दुई सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउँछन् । पर्यटकीय क्षेत्र भए पनि खानेपानीको यहाँ वर्षाैंदेखि समस्या छ । एक उच्च मावि रहेको यो गाविस विकासका हिसाबले तुलनात्मक रूपमा पछि परेको छ । यहाँका अधिकांश बासिन्दा चिया र तरकारीखेतीमा लागेका छन् । कन्याममा नेपाल चिया विकास निगमअन्तर्गतको एउटा चिया कारखाना छ । तीनवटै गाविसमा साना ठूला गरी दुई सयभन्दा बढी चिया बगान र तीन दर्जन कारखाना छन् । “धेरै पहिले स्थानीयले उठाएको माग अहिले आएर सम्बोधन भएको छ, यसले यस क्षेत्रका बासिन्दा हर्षित छन्”, कन्यामका काजीमान कागते बताउनुहुन्छ । नव घोषित सूर्याेदय नगरपालिका कार्यान्वयन हुनुपर्ने स्थानीय बताउँछन् । यहाँबाट सीमावर्ती पशुपतिनगर हुँदै भारतको दार्जिलिङ, सिक्किम सहजै पुग्न सकिन्छ भने मनोरम हिमशृङ्खला पनि देख्न सकिन्छ । यो सहित इलाममा नगरपालिकाको सङ्ख्या दुई पुगेको छ । – कृषि साप्ताहिक

प्रकाशित मिति: सोमवार, बैशाख २९, २०७१