बिहिबार, बैशाख १३, २०८१

पशु बधशाला बन्द हुने अवस्थामा

जुम्ला, ३० वैशाख । यहाँ रहेको पशु बधशाला खसी अभावका कारण बन्द हुने अवस्थामा रहेको छ ।

सदरमुकाम जुम्लाको वातावरणीय सरसफाइ गर्न, व्यवसायीहरूलाई करको दायरामा ल्याउन र उचित पद्धतिको विकास गर्न करिब ३४ वटा व्यवसायीलाई जिल्ला पशुसेवा कार्यालय जुम्लाले इजाजतपत्र दिइ ती बधशाला खोलिएका थिए ।
ग्रामीण भेगबाट सदरमुकाममा खसीबोका आउन कमी भएपछि बधशाला नै बन्द हुने अवस्थामा पुगी मासुको अभाव भएको छ । अहिले नेपालगन्जबाट दैनिक चारदेखि पाँच क्विन्टलसम्म भित्रिने ब्रोइलर कुखुराको मासुले बजार पाएको छ । खसीको मासु प्रतिकेजी रु ५०० भए पनि एकाएक बढेर रु ६०० पुगेको छ भने ब्राइलरको मासु प्रतिकेजी रु ३९० बाट बढेर रु ४४० पुगेको छ ।
दिनानुदिन तीव्र रुपमा बढिरहेको जनसङ्ख्या, पशुपालनका लागि चरन क्षेत्र पनि आवादी जग्गामा परिणत हुँदा व्यवसायमा नै कमी आउनु, स्थानीय जनताको व्यवसाय तथा खाद्य आदतमा नै परिवर्तन हुनु र कष्टकर जीवनबाट सहज जीवनशैली व्यतित गर्ने मानव चिन्तन बढ्दै जानुले पनि भेडाबाख्रा तथा अन्य पशुपालन व्यवसायमा कमी आउँदा यो समस्या देखिएको वरिष्ठ पशुस्वास्थ्य प्राविधिक धनजित बुढाले बताउनुभयो ।
अहिले आठ, दश वटा खसी जुम्ला सदरमुकाममा भित्रिँदा व्यापारीहरूबीच खोसाखोस हुने गर्दछ । जुम्ला सदरमुकाममा प्रतिदिन सरदर १५ देखि २० वटा खसी खपत हुने गर्दछ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ३०, २०७१