सोमवार, बैशाख २४, २०८१

ग्रामीण बजारमा अवैध सामानको व्यापार

जनकपुरधाम, २४ वैशाख । भन्सारबाट राजस्व तिरेर भारतीय सामान भित्रिएकोबारे महोत्तरीको कटिकटैया छोटी भन्सार कार्यालयमा कुनै अभिलेख छैन तर यहाँको ग्रामीण बजारमा भने व्यापक मात्रामा भारतीय सामान बिक्री भइरहेका देखिन्छन् । नेपाली बजारभन्दा भारतीय बजारमा खाने तेल, चिनी, दाललगायत दैनिक उपभोग्यका सामान सस्तोमा पाइने भएकाले उक्त सामान व्यापक मात्रामा तस्करी भई महोत्तरीका सुदूर गाउँमा भित्रिने गरेको व्यापारीको भनाइ रहेको छ ।

        भारतको सिरसिया, सुरसन्ड बजारबाट रातको समयमा तस्करले कटिकटैया नाका भएर दैनिक लाखौँ मूल्य बराबरको खाद्यान्न सामग्री, कपडा, डिजेल, पेट्रोल भित्र्याउँछन् भने चिनियाँ स्याउ सोही नाका भएर भारतीय बजारमा पु¥याउने गर्छन् । “सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट तथा सीमा प्रहरी चौकीका जिम्मेवार व्यक्तिहरूलाई आफ्नो पक्षमा पारेर महिनाबारी रकम दिने गरिएको छ र रातको समयमा व्यापक मात्रामा सामानहरू नेपाल भित्र्याउने गर्छन्”, स्थानीय एक व्यापारीले भने । सुरक्षाकर्मीकै मिलेमतोमा भारततर्फबाट व्यापक मात्रामा सामान भित्रिने गरेको तर छोटी भन्सारमा एक रुपैयाँ पनि भन्सार काटिएको नदेखिएपछि तस्करीको खुलासा भएको हो । त्यसो त सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कटिकटैयाबाट खटेको घुमुवा प्रहरी सरपल्लो बजारमा खटेर तस्करसँग रकम उठाइरहेको सजिलै देख्न पाइन्छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक भुवनेश्वरप्रसादले वास्तविकता पत्ता लगाउने बताए ।  -कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, बैशाख २४, २०७१