आइतवार, जेष्ठ ६, २०८१

उचित ज्याला नपाउँदा मजदुर विस्थापित

इलाम, २४ वैशाख । चिया कारखाना तथा बगानमा कार्यरत मजदुरहरू उचित ज्याला नपाउँदा विस्थापित हुन थालेका छन् ।  बगानमा काम गर्ने मजदुरको रु २०१ र कारखानामा काम गर्नेलाई रु २२१  न्यूनतम ज्याला विसं २०६९ भदौ राजपत्रमा प्रकाशित न्यूनतम ज्यालासमेत पाउन छाडेपछि मजदुरपलायन हुन थालेका हुन् । नेपाल चिया विकास निगमअन्तर्गतका इलाम र झापाका सातवटा चिया कारखानामा आधाभन्दा धेरै मजदुर कारखाना व्यवस्थापन पक्षले राजपत्रमा प्रकाशित गरेबमोजिमको ज्याला पनि नदिँदा पलायन हुन थालेका हुन् ।
विसं २०५७ मा त्रिवेणी सङ्घाई ग्रुपले नेपाल सरकारबाट बगान जिम्मा लिँदा दुई हजार ३४० जना स्थायी चिया मजदुर रहेको झापाको विर्तामोडस्थित निगमको कार्यालयले जनाएको छ । कम ज्यालकै कारण मजदुरको सङ्ख्या घटेर एक हजार ४० मा सीमित बन्न पुगेको हो । पहिले १७० भन्दा धेरै स्थायी मजदुर रहेको इलाम चिया बगानमा अहिले ८० जनाभन्दा कम मजदुर छन् । कन्याम चिया कारखानामा ४७३ मजदुर कार्यरत रहे तापनि अहिले २०० मात्र मजदुर रहेको कारखानाले जनाएको छ । आफूहरूले पाउने पारिश्रमिक न्यून भएकाले बढ्दो महँगीस“ग जुध्न नसकेको मजदुरहरूको भनाइ छ ।
अन्यत्रको काममा भन्दा चियामा काम गर्दा पारिश्रमिक थोरै पाइन्छ, दानाबारीस्थित चिलिमकोट चिया बगानका स्वतन्त्र चिया मजदुर युनियनका अध्यक्ष बालगोविन्द मुण्डा बताउछन् । राजपत्रमा प्रकाशित ज्याला नपाएको भन्दै यहाँका मजदुर आन्दोलित भएका छन् । “बारम्बार ज्यालाको विषयलाई लिएर आन्दोलन गर्नुपर्छ”–उनि भन्छन्–“यसो गर्दा काम गर्नुको सट्टा धमाधम मजदुरले छाड्दै गएका छन् ।” चिलिमकोटमा ७२ स्थायी, २५० अस्थायी र कारखानामा कार्यरत ३० जना मजदुर छन् । तर न्यूनतम ज्याला नपाएपछि बगान छाड्ने तयारीमा धेरै रहेको मुण्डा बताउनुहुन्छ । बगान सञ्चालक पक्ष भने बर्सेनि घाटामा गएको जनाउँदै आम्दानीअनुसार मात्र पारिश्रमिक दिन नसकिने बताउँछन् ।
सरकारले सम्झौताअनुसारको जमिन नदिएको र विकास निर्माणका नाममा बगन क्षेत्र अतिक्रमणमा परेकाले नोक्सानी बढ्दै गएको चिया सञ्चालकको दाबी छ । व्यवस्थापन र मजदुरबीच पारिश्रमिक विवादले धेरै पटक आन्दोलनसमेत भएका छन् । तर मजदुर भने आफ्नो अवस्था जस्ताको तस्तै रहेको बताउँछन् । इलाम चिया बगानमा २९ वर्षदेखि कार्यरत मजदुर मेघनाथ अधिकारीले भने–“रातदिन चिया बगानमा काम गरेर हिँडियो अहिले आएर जीवन चलाउन नै मुस्किल प¥यो, काम गरिन्छ कि गरिँदैन भन्ने टुङ्गो छैन ।” आफूसँग काम गर्ने धेरै साथीले दैनिक ५०० भन्दा बढी कमाउँछन् । आफू त दिनभरिमा डेढ सय पाउननै मुस्किल पर्छ, उनले दुखेसो गरे । चिया बगान स्थापना हु“दादेखि काम गर्ने मजदुर बगानको कमाइले खानसमेत राम्रो नपुगेको गुनासो गर्छन् । अहिले झापाका चिया बगानमा काम गर्नेले दैनिक रु १५८ र इलामका बगानमा रु १५० पारिश्रमिक पाउँछन् । सरकारले इलाम, कन्याम, चिलिमकोट, सोक्तिम, झापाको बर्ने, टोक्ला र बाह्रदशीमा चिया बगान ५० वर्षका लागि त्रिवेणी सङ्घाई ग्रुपलाई जिम्मा दिएको हो । बगानमा काम गर्ने मजदुर घट्दै गएपछि विगतको तुलनामा चियापत्तिसमेत पलाउन छाडेको छ भने बगान दिनप्रतिदिन झाडीमा परिणत हुँदै गएको छ । चियामा लगानी गरेका साना किसान पनि मजदुर अभावले पिरोलिन थालेका छन् । बगानमा काम गर्ने अधिकांश ५० नाघेका छन् । युवापुस्ता बगानमा काम गर्नुभन्दा वैदेशिक रोजगारीतर्फ आकर्षित हुन थालेका छन् । बारम्बार ज्याला वृद्धिको माग राखेर आन्दोलन गरे पनि मजदुरका पक्षमा कसैले पनि सुनुवाइ नगरेको कन्यामका मजदुर रमेश खड्का गुनासो गर्छन् । श्रमिकको आत्मसम्मान, रोजगारीको ग्यारेन्टी, बा“च्न पुग्ने पारिश्रमिक, राज्यले खेल्नुपर्ने भूमिका अभाव लगायतका कारण चिया क्षेत्रमा मजदुरको आकर्षण घट्दै गएको खड्काको भनाइ छ ।  -कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, बैशाख २४, २०७१