शनिबार, बैशाख १५, २०८१

असिनाले हिउँदेबाली नष्ट

म्याग्दी), ४ चैत । म्याग्दीको विभिन्न गाविसका किसानले लगाएको हिउँदेबाली असिनाले नष्ट गरेपछि कृषक चिन्तित बनेका छन् । पुलाचौर, सिङ्गा, कुहूँ, ज्यामरुककोटलगायतका गाविसमा आइतबार साँझ परेको असिनाले हिउँदेबालीमा क्षति पु¥याएको हो । असिनाले चुटेर पाक्ने बेला भएको गहुँ, जौ, उवा, तोरी, केराउलगायत बालीका साथै किसानले बारीमा लगाएको बन्दा, काउली, गोलभेँडालगायतका तरकारी नष्ट गरेकोछ । भर्खरै उम्रिएको मकै, बर्खे आलुका बिरुवा तथा फूल खेल्ने बेला भएको सुन्तलाजात फलफूलका बोटमा पनि असिनाले चुटेर क्षति पु¥याएको कृषकले बताएका छन् । “पाकेर भित्र्याउने बेला भएको हिउँदेबाली असिनाले चुटेर भुइँभरि झारीदिएको र हिउँदभरि दुःख गरेर गरेको खेतीबाली नष्ट हुँदा कृषक चिन्तित बनेका छन् ।” वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले स्थानीय कृषि सेवा केन्द्रका प्राविधिकमार्फत असिनाले गरेको क्षतिको विवरण सङ्कलन गरिने बताएका छन् । -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, चैत्र ४, २०७०