बुधबार, बैशाख २६, २०८१

साल्ट टे«डिङले मल कारोबार गरेपछि समस्या हट्यो

विराटनगर, ५ चैत । पूर्वाञ्चलमा रासायनिक मलको अभाव हुन नदिन साल्ट टे«डिङ कर्पोरेसन अञ्चल कार्यालय विराटनगरले सरल र सुलभ रुपमा रासायनिक मल बिक्री वितरण गरेपछि कृषक मलको समस्याबाट मुक्त भएका छन् । लामो समयदेखि केही सीमित निकायबाट रासायनिक मलको बिक्री वितरणले समयमा मल उपलब्ध नहुने, मलको कालोबजारी हुने, र महँगो मूल्यमा गुणस्तरहीन मल खरिद गर्नुपर्ने बाध्यता रहेको थियो ।
तर साल्ट टे«डिङले विगत पाँच महिनादेखि सुरु गरेको मलको कारोबारले मलको अभाव नदेखिएको पूर्वाञ्चल क्षेत्रीय कार्यालयका कृषि अधिकृत भागिरथ यादवले बताउनुभयो । मोरङ जिल्लामा मात्र एक सय १० वटा मल बिक्री वितरण गर्ने सहकारी संस्था रहेको र उनीहरूलाई समयमा मल उपलब्ध नहुँदा व्यवसायी तथा कृषक समस्यामा पर्ने गरेको उहाँको भनाइ रहेको छ । साल्ट टे«डिङ अञ्चल कार्यालयले हाल युरिया, डिएपी तथा पोटासको भरपर्दो रुपमा भण्डारण गरी बिक्री वितरण गरेको जनाएको छ । मोरङको विराटनगरस्थित नेसनल टे«डिङ तथा सुनसरीको सोनापुरमा सो कार्यालयले गोदाम राखी सुरक्षित तरिकाले कृषकलाई मल उपलब्ध गराइरहेको छ ।  सो कार्यालयको गोदाममा तीन हजार ८९७ मेट्रिक टन युरिया, चार हजार ५४६ मेट्रिक टन डिएपी तथा ४५ मेट्रिक टन पोटास मौज्दात रहेको बताइयो ।

प्रकाशित मिति: बुधबार, चैत्र ५, २०७०