शुक्रबार, चैत्र १६, २०८०

गाईभैँसीको मल र मूत्रलाई व्यवस्थित गर्न अनुदान

भकारोमङ्गलबारे (इलाम), ३ चैत । गाईभैँसीको मल र मूत्रलाई व्यवस्थित गर्न इलाममा भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले भकारो सुधारका लागि किसानलाई चालु आर्थिक वर्षमा प्रतिगोठ रु पाँच हजार अनुदान दिएको छ । सुलुबुङमा १००, पशुपतिनगरमा ४९ र गोदकमा ५० गोठमा भकारो सुधार कार्यक्रम गरिने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले बताउनुभयो । कार्यालयले दिएको अनुदानबाट किसानले मल र मूत्र हाल्ने ट्याङ्की र ओतको व्यवस्था गर्ने भएका छन् । गाईभैँसीको वर्षदिनको मल र मूत्रमा धेरै नाइट्रोजन भए पनि खुल्ला रूपमा छाड्नाले उडेर जाने गर्दछ । त्यसलाई व्यवस्थापन गर्नसमेत भकारो सुधार कार्यक्रमअघि सार्नु परेको डाँगी बताउनुहुन्छ । भकारो सुधारपछि त्यसमा राखिएको मल खेतबारीमा थोरै लगाए पनि उत्पादन भने बढ्ने गरेको सुलुबुङका नेत्रप्रसाद रिजालले बताउनुभयो । रासायनिक मलको सट्टा गोठेमल प्रयोग गर्ने हो भने माटोको उर्वराशक्तिसमेत बढ्ने रिजालको भनाइ छ । भकारो सुधारपछि थोरै मल पनि धेरै क्षेत्रफलमा प्रयोग गर्न सकिने किसान बताउँछन् । भकारोको मलबाट तरकारीखेती, अन्नबाली आदिमा प्रयोग गर्न सकिन्छ । गाईवस्तुको मल लगाएको उत्पादनले मानिसको स्वास्थ्यलाई समेत असर नगर्ने कृषि प्राविधिकहरू बताउँछन् ।-कृषि साप्ताहि

प्रकाशित मिति: सोमवार, चैत्र ३, २०७०