सोमवार, बैशाख १७, २०८१

कुखुराको सुलीबाट जैविक मल

चितवन, १९ फागुन । सरकारले जैविक मल उत्पादन गर्ने उत्पादकलाई ५० प्रतिशत अनुदानको व्यवस्था गरेपछि जैविक मल उत्पादन गर्न खोज्ने कम्पनीहरुको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । जैविक मल उत्पादन कै लागि चितवनमा पञ्चरत्न ग्रुपले कुखुराको सुलीबाट आधुनिक बायो (जैविक) मल उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको छ । यो नेपालमै पहिलो उद्योग भएको ग्रुपले दाबी गरेको छ ।
लामो समयदेखि पोल्ट्री व्यवसायमा सहभागी पञ्चरत्न ग्रुप अफ पोल्ट्री इन्डष्ट्रिजको एग्रो हेल्थ बायो टेकले कुखुराको सुली प्रशोधन गरी जैविक मलको उत्पादन थालेको जनाएको छ । उद्योगले आधुनिक जैविक मल तयार गरी बजार पठाउनसमेत थालेको ग्रुपका अध्यक्ष डा. तीलचन्द्र भट्टराईले कृषि अनलाईनसँग बताउनुभयो ।
रसायनिक मलका कारण माटो बिग्रन थालेपछि माटोको उर्वराशक्ति बढाउन जैविक मल उपयोगी भएको विज्ञहरुले बताएका छन् । बढ्दो विषादीको प्रयोगले माटोको शक्तिमा ह्रास आइसकेका बेला यसरी उद्योग सञ्चालन हुनु सकारात्मक भएको कृषि विज्ञले बताएका छन् ।

प्रकाशित मिति: सोमवार, फाल्गुन १९, २०७०