सोमवार, बैशाख २४, २०८१

कृषिको बजेट अन्तै खर्च

स्याङ्जा, १३ फागुन । राज्यले कृषि क्षेत्रका लागि कुल बजेटको १५ प्रतिशत रकम निकासा दिने गरेपनि स्थानीय निकायले कृषि क्षेत्रका लागि छुट्ट्याइएको रकम अन्यत्रै खर्च गर्ने गरेको किसानले आरोप लगाएका छन् ।
किसानले आफूहरू सङ्गठित भएर खबरदारी नगरेकै कारण कृषिका लागि छुट्ट्याइएको बजेट स्थानीय निकायका पदाधिकारीले अन्यत्रै खर्चने गरेको बताएका छन् ।
“गाविस तथा नगरपालिकाले हरेक वर्षको गाउँ परिषद्मा १५ प्रतिशत रकम कृषि क्षेत्रका लागि भनेर छुट्ट्याएका हुन्छन् ।” जिल्ला स्तरीय कृषि सञ्जाल स्याङ्जाका उपाध्यक्ष यज्ञ पाठकले भन्नुभयो,–“कृषकलाई बजेट छुट्ट्याइएको छ भन्ने पनि जानकारी हुँदैन, त्यसैले स्थानीय निकायका पदाधिकारीले सो रकम अन्यत्रै खर्च गर्ने गरेको पाइएको छ ।”
कृषि सञ्जालले अबदेखि हरेक गाविस र नगरपालिकाले कृषि क्षेत्रका लागि छुट्ट्याइएको रकम स्थानीय किसानलाई जानकारी गराउने र उक्त रकमलाई सोही क्षेत्रमा खर्च गराउन आफूहरू क्रियाशील रहने उपाध्यक्ष पाठकले बताउनुभयो ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १३, २०७०