शुक्रबार, बैशाख १४, २०८१

घरायसी विवादले माघसम्म बोटमै धान, कोदो

फलेवास (पर्वत), २५ माघ । असारमा रापेको धान र कोदो मङ्सिरमा भकारीमा थन्काइसकेका छन् कृषकले । तर पर्वतको तिलहार गाविसमा भने असारमा रोपेको धान र कोदो माघ सकिने बेला पनि बोटमै छ । तिलहार गाविसको वडा नं ७ रातमाटामा भने माघ सकिनै लाग्दा पनि धान र कोदो नथन्काएका कारण बोटमै रहेको हो । बाबु र छोराबीच विवाद भएका कारण धान र कोदो अझै काटिएको छैन । बुबा मानबहादुर कार्की र छोरा दानबहादुरबीचको विवादका कारण खेतमै धान झरेर सकिएको छ भने पराल कुहिएर मल बन्न थालेको छ । धानमात्रै होइन दुई रोपनीमा लगाएको कोदो पनि थन्काउन नपाउँदा बारीमा नै उम्रेको छ । जेठा छोरा दानबहादुर कार्कीले लगाएको धान थन्काउन बाबुले नदिएपछि अहिले पनि बोटमै रहेको कार्की बताउँछन् । “मङ्सिरमा भित्र्याउनुपर्ने धान माघसम्म खेतमै छ,” उनी भन्छन्, “दुःख गरेर खेत रोपियो तर धान काट्ने बेलामा विवाद भएपछि धान खेतमै अलपत्र परेको छ ।”
बाइस रोपनीमा रोपिएको धान पारिवारिक विवादका कारण खेतमै अलपत्र परेको छ । धान काट्न धेरैपटक प्रयास गरेपछि बाबुले अवरोध गरेको गुनासो दानबहादुरको छ । “धेरै पटक धान  काट्न गएँ तर बाबुले दिनुहुन्न,” उहाँले भन्नुभयो, “अब त धान झरेर उम्रिसक्यो, पराल कुहिएर मल बन्न लागिसक्यो ।” आफूले लगाएको धान र  कोदो थन्काउन धेरैपटक प्रयास गरेपछि बाबुकै कारण नसकेर बाध्य भएर प्रहरी गुहारे पनि समस्या समाधान भएको छैन । प्रहरीले विवाद मिलाउन प्रयास गरे पनि समाधान नभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरी निरीक्षक प्रदीपकुमार सिंहका अनुसार ८४ वर्षीय बुबा मानबहादुर कार्र्कीलाई कार्यालयमा बोलाउँदा विभिन्न बहाना गर्ने र दुई जनाको बीचमा लेनदेनको विषय भएकाले समस्या समाधान हुन सकेको छैन । जमिन बाबुको नाममा छ भने छोराले खेती गर्दै आएका थिए । “बाबुले आफ्नो नाममा भएको जमिनको धान काट्न दिन्न भनेकाले समस्या भएको छ,” उहाँले भन्नुभयो, “छोराको नाममा भएमा खाली गराउन सजिलो हुन्थ्यो, बाबु मान्दै मान्दैनन् ।” उता, बुबा मानबहादुरले भने आफ्नो चौरासी पूजा लगाउँदा खर्च भएको रकम दानबहादुरले नदिएका कारण आफूले खेतको धान काट्न नदिएको बताउँदै आएका छन् । मानबहादुरको चौरासी पूजामा रु ९७ हजार खर्च भएको दाबी गर्दै आएका छन् । मानबहादुरका दुई छोरामध्ये दानबहादुर जेठा हुन् । हाल मानबहादुर आफ्ना कान्छा छोरा पूर्णबहादुरसँग बस्दै आएका छन् । बुबा मानबहादुरको चौरासी पूजा पूर्णबहादुरले सम्पन्न गरेका थिए ।
दानबहादुरले आफूले चौरासी पूजा लगाउँदा भएको खर्च बिलका आधारमा आफूले भुक्तानी गर्न तयार रहे पनि बुबाले रकमसमेत बुझ्न इन्कार गरेको बताए । विसं २०५२ मा छुट्टिएर अलग्गै बसेका बाबुछोराबीच पछिल्लो समयमा विवाद बढेर गएपछि धान खेतमै अलपत्र परेको हो । ८४ वर्षीय बाबु कान्छा छोरा पूर्णबहादुर र ७९ वर्षीया आमालाई दानबहादुरले पालनपोषण गर्दै आएका छन् । दुःखजिलो गरेर असारमा रोपेको धान काट्न नपाएपछि भने जेठो छोरा धान खेतमै रहेको दुखेसो सुनाउँदै कानुनी उपचार गर्ने भन्दै सदरमुकाम आइपुगेका छन् । दानबहादुरले भने, “अंश नदिएपछि कानुनी उपचारका लागि सदरमुकाम आएको हुँ ।” बाबुले पैसा दिएमात्र अंश दिने बताएपछि समस्या बढेर गएको कार्कीले बताए । उन्नाइस वर्षदेखि आमालाई जेठा छोराले पाल्दै आएका थिए भने कान्छा छोराले बाबुलाई पालेका थिए । बाबुले आफ्नो पालनपोषणमा लागेको खर्च दिएमात्र अंश दिने बताएको र आमा पालेर बसेकाले खर्च नदिएको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, माघ २५, २०७०