शनिबार, बैशाख १५, २०८१

कृषि प्रविधिको जानकारी दिन किसानलाई मोबाइल

धनकुटा, वैशाख । कृषि विकास मन्त्रालय जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले प्राविधिक ज्ञानसहित व्यावसायिक उत्पादन बढाउनका लागि सूचना प्रविधिको पहुँच बढाउन धनकुटा जिल्लाका ४३ किसानलाई सूचना सामाग्री वितरण गरिएको छ । जिल्लाका अगुवा किसानका लागि गत बिहीबारदेखि सूचना सामग्री वितरण सुरु गरिएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । प्रविधिको प्रयोग गर्दै व्यावसायिक खेतीको विस्तारका लागि ४३ थान एनड्रोइड मोबाइल र ४३ थान रेनगेज उपकरण वितरण गरिएको हो ।mibile
जिल्ला कृषि विकास कार्यालयले सिफारिस गरेका २६ र पशु कार्यालय धनकुटाले सिफारिस गरेका १७ अगुवा किसानलाई विभिन्न प्राविधिक सूचना पाउन सहज हुने मोबाइल र मौसम मापनसहित बर्सातको पानी नाप्ने उपकरण सामग्री हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यलयका प्रमुख भरतप्रसाद विडारीले बताए । किसानलाई निर्वाहमुखी खेतीबाट व्यावासायिक बनाउन ‘मेरो कृषि’ नामक एपमार्फत कृषि प्रविधिसम्बन्धी सूचना उपलब्ध गराउन थालिएको छ ।
विभिन्न समयमा बदलिँदो मौसमबारे अग्रिम जानकारी लिँदै मौसम अनुकूल खेतबारीमा काम गर्न सहज बनाउने भन्दै रु छ लाख ४५ हजार बराबरको रेनगेज उपकरण प्रदान गरिएको छ । जिल्लामा दुई सय सात पशु फार्म र पाँच सय ४४ कृषक समूह रहेको कार्यालयले जनाएको छ ।
कृषिसम्बन्धी सूचना हेर्न सरकारले किसानलाई मासिकरूपमा १५ एमबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने भएको छ । इन्टरनेटसँगै फोनबाट पनि समस्याबारे जानकारी लिएर समधान गरिने योजना रहेको छ । किसानका लागि सिमसहित प्रतिगोटा रु १८ हजार बराबरको सामुसुम जी फाइभ मोबाइल वितरण गरिसकिएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक झवीन्द्र मरासिनीले बताए ।

प्रकाशित मिति: सोमवार, बैशाख २५, २०७४