बुधबार, बैशाख १९, २०८१

कृत्रिम गर्भाधान कार्यक्रम प्रभावित

जनकपुरधाम, ५ पुस । जिल्ला पशु सेवा कार्यालय धनुषामा पर्याप्तमात्रामा नाइट्रोजनको उपलब्धता नभएकाले पशुमा गरिने कृत्रिम गर्भाधान कार्यक्रम प्रभावित भएको छ ।

राष्ट्रिय पशु प्रजनन केन्द्र पोखराबाट धनुषामा नाइट्रोजन आपूर्ति भए पनि मागअनुसारको नाइट्रोजन उपलब्ध हुन नसक्दा सो कार्यक्रम प्रभावित भएको पशु विकास अधिकृत रामपुकार ठाकुरले बताएका छन् ।
जिल्लामा प्रतिमहिना ५०० लिटर तरल नाइट्रोजनको आवश्यकता भए पनि २०० देखि ३०० लिटरमात्र प्राप्त हुने भएकाले पशुमा गरिने कृत्रिम गर्भाधान कार्यक्रम प्रभावित हुन गएको हो ।
जिल्लामा १८ ठाउँबाट निजी तथा सरकारीस्तरमा पशुमा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरिएको । दैनिक २० देखि २५ वटा पशुमा कृत्रिम गर्भाधान गरिने बताइएको छ ।
धनुषा जिल्लामा २०३२ साल देखि यो कार्यक्रम सञ्चालनमा आएपछि अघिल्लो पाँच वर्षको तुलनामा यो कार्यक्रमतर्फ किसान आकर्षित हुन थालेका छन् ।
जिल्लामा कुल भँैसीको सङ्ख्यामध्ये ७.५ प्रतिशत र कुल गाईको सङ्ख्यामध्ये १५.५९ प्रतिशतमा कृत्रिम गर्भाधान गरिने पशु चिकित्सक बरुण मल्लिकले बताए ।
गाई तथा भैँसीमा नश्ल सुधार गरी दूधको उत्पादकत्व बनाउने उद्देश्यले सञ्चालित यो कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७०÷०७१ मा प्रासर सेवाअन्तर्गत आठ हजार २९९ गाईभँैसीमा र कृत्रिम गर्भाधान राष्ट्रिय अभियान कार्यक्रमअन्तर्गत एक हजार ७६३ गाईभँैसीमा कृत्रिम गर्भाधान गरिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०७१