शुक्रबार, बैशाख ७, २०८१

उत्पादनशील भँैसी संरक्षण फार्म

बनेपा, ५ पुस । काभ्रेपलाञ्चोकको ढुंखर्क गाविस–२ का बेदप्रसाद तिमिल्सिना थारा भैँसीको संरक्षण गरेर दोब्बर आम्दानी लिन थालेपछि दङ्ग परेका छन् ।

जिल्लामा दूधको उत्पादन घटेपछि कृषकले उत्पादनशील थारा भैँसीको बिक्री गरेपछि त्यसको विरुद्धमा उनले काट्नका लागि लैजान लागिएका उत्पादनशील भैँसी रु ५० हजारदेखि रु ८० हजारसम्म खरिद गरेर त्यसको उपचार गरी दुहुना भैँसी बनाएर रु ६० हजारदेखि रु ८९ हजारसम्ममा बिक्री वितरण गरेको बताए ।
केन्द्रीय गाईभैँसी प्रवद्र्धन कार्यक्रम र जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा रु ५० लाखको लागतमा उत्पादनशील थारा भैँसी संरक्षणका लागि थानी महाकाल नमुना पशुपालन फार्म नै सञ्चालन गरेका कृषक तिमिल्सिनाले फार्ममा थारा र दुहुना गरी करिब २७ वटा भैँसी पालेका छन् । यसलाई बढाएर ५० वटा बनाउने लक्ष्य लिएको उनले बताए । जिल्लाको ढुंखर्क क्षेत्रलाई पशुपालनको पकेट क्षेत्रका रूपमा मानिन्छ ।
झन्डै ११० रोपनी क्षेत्रफलमा परम्परागत रूपमा डाले घाँसको खेतीसमेत गरेका उनले अब व्यावसायिक घाँसखेतीसमेत गरिने जानकारी दिए ।
विसं २०७० चैतमा स्थापना भएको फार्ममा केन्द्रीय गाईभैँसी प्रवद्र्धन कार्यक्रमले रु छ लाख अनुदान सहयोग गरेको छ । यस वर्ष रु १० लाख अनुदान सहयोग गर्ने कार्यक्रम रहेको जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
क्षेत्रीय पशु विकास निर्देशनालयका निमित्त निर्देशक केशव अच्छामीले गाई तथा भैँसीको संरक्षण अनिवार्य भएको उल्लेख गर्दै दूधलाई गुणस्तरीय बनाउनसमेत कृषकलाई सुझाव दिएका छन् । उनले जैविक सुरक्षा र नश्ल सुधारमा समेत कृषकको कमजोरी देखिएको समेत औंल्याए ।
पशु उत्पादनशील निर्देशनालयका डा लोकनाथ पौडेलले थारा भैँसीको संरक्षणका लागि यस्तो अभियान सञ्चालन भएको जानकारी दिँदै भारतले भैँसी नेपाल ल्याउन रोक लगाएकाले चोरी, तस्करीका माध्यमबाट मात्रै भैँसी आएको बताए ।
उनले उत्पादनशील थारा भैँसीको संरक्षण नभए त्यसले दूरगामी असर पर्ने उल्लेख गर्दै कुल दूध उत्पादनको ७० प्रतिशत र कुल मासु उत्पादनको ६० प्रतिशत क्षेत्र भँैसीले ओगटेको भन्दै यो राष्ट्रको चिन्ता भएको समते डा पौडेलले बताए ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०७१