आइतवार, बैशाख २३, २०८१

नयाँ महाप्रवन्धक आएसँगै दुग्ध विकास संस्थान धूलो दूध आयात गर्ने तयारीमा

काठमाडौं । नेपाली किसानहरुले उत्पादन गरेको दूधको उचित मूल्य नपाएको र मिल्क होलिडे पटक पटक भएपछि तात्कालिन कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले विदेशबाट धूलो दूध आयात गर्न गरेको प्रतिवन्धलाई वर्तमान मन्त्रीले खुलाउने तयारी गरिरहेका छन् । दुग्ध विकास संस्थानमा नयाँ महाप्रवन्धक नियुक्ति भएसँगै धूलो दूध आयात गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रीले दुग्ध विकास संस्थानका महाप्रवन्धकलाई निर्देशन दिएका छन् ।

पछिल्लो समयमा विभिन्न विषयमा विवादमा मुछिन थालेका कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवकै निर्देशनमा दुग्ध विकास संस्थानले धूलो दूध आयात गर्नका लागि आयातकर्ताहरुको सूचिकरण गर्न सार्वजनिक सूचना नै प्रकाशन गरेको छ ।

अघिल्लो सातामात्र संस्थानमा महाप्रवन्धक भएर आएका सञ्जिव झाले धूलो दूध आयात गर्नका लागि सार्वजनिक सूचना प्रकाशन गरेको बताए । अहिले दुधको अभाव भएकाले धूलो दूध ल्याउने पर्ने अवस्था त त्यसकारण पनि आयातकर्ताहरुको सूचिकरणका लागि सूचना प्रकाशन गरिएको झाले जानकारी दिए । अहिले धूलो दूध ल्याउन नसके दुग्ध विकास संस्थानले दूध उत्पादन गरी विक्री वितरण नै गर्न नसक्ने अवस्था आउने समेत झाले खुलासा गरे ।

दुग्ध विकास संस्थानले आयात गर्ने धूलो दूधको गुणस्तरका विषयमा यस अघि पनि निकै नै विवाद भएको थियो । संस्थानमा सद्दाम हुसेनकामा रुपमा परिचित तात्कालिन महाप्रवन्धक गंगाप्रसाद तिमिल्सेनाले पटनाबाट गुणस्तरहीन धूलो दुध खरिद गरी त्यसबेला उपभोक्तालाई विक्री वितरण गरेका थिए ।

विदेशबाट धूलो दुध आयात गर्दा नेपाली दूध उत्पादक किसानहरु मारमा परेको भन्दै तात्कालिन कृषि मन्त्री चक्रपाणी खनालले दूध आयात रोक्दा उनको मन्त्री पद नै गएको थियो । त्यसबेला निजी डेरीहरुले मन्त्रीलाई ठूलो आर्थिक प्रलोभन पनि दिएका थिए । तर खनालले किसानमारा प्रबृत्तिलाई अन्त्य गर्ने सोचले धूलो दूध आयात गर्न रोक्न सफल भएका थिए ।

अहिले फेरि किसानहरुको दूध खरिद गर्दा चर्को मूल्य तिर्नु पर्ने भन्दै गुणस्तरहीन दुध आयात गर्ने तम्तयारी भईरहेको संस्थानले प्रकाशन गरेको सार्वजनिक सूचनाबाट नै प्रष्ट देखिन्छ ।

दुग्ध विकास संस्थानमा यस अघिका महाप्रन्धक रुद्र पौडेललाई पनि धूलो दूध खरिद गर्नका लागि निकै नै दवाव परेको थियो । तर उनले दवावलाई कुनै वास्ता नगरी धूलो दूध आयात भने गरेनन् । अहिले किसानहरुलाई दूधको मूल्य बृद्धि गरे पश्चात डेरी उद्योगीहरु भारतबाट सस्तो मूल्य मा धूलो दुध आयात गरी घोल बनाएर विक्री गर्ने सोचमा देखिएका छन् । त्यसको शुरुवात सरकारी संस्थानले नै गर्न लागेको हो ।

अहिलेको जटिल अवस्था र मुलुक दूधमा करीव करीव आत्मनिर्भर भईसकेको सरकारी तथ्यांकले देखाईरहेका बेला पुन धूलो दूध आयात गरी विक्री गर्ने तयारी गर्नुलाई संस्थान, मन्त्रालय र निजी डेरीसमेतको मिलेमतो भएको आशंक गरिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धूलो दुध आयात गर्ने कार्यलाई रोक्न राजनीतिक दल निकट किसान संगठनहरुले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने संकेत पनि देखिएको छ ।

प्रकाशित मिति: बिहिबार, चैत्र २४, २०७८