शुक्रबार, चैत्र १६, २०८०

गोरखाको उत्तरी गाउँमा भेडापालन पेसा सङ्कटमा

काठमाडौँ । गोरखा जिल्लामा भेडापालन पेसा अहिले सङ्कटमा परेको छ । २०७२ सालको विनाशकारी भूकम्प आउनुअघिसम्म गोरखाको उत्तरी गाउँमा भेडापालन धेरै थियो । ७२ को विनासकारी भूकम्प आनु अगाडी धारकेका लाप्राकीसँग ६० भन्दा धेरै भेडीगोठ थिए । भेडाबाट हुने आम्दानीले वर्षभरिको अन्न जोहो गर्ने र चाडपर्व मनाउने लाप्राकीसँग हिजोआज मुस्किलले छवटा भेडीगोठ मात्र छ ।

फिरन्ते जीवन जिउनुपर्ने र दुःख धेरै पाइने भएपछि युवा पुस्ता भेडापालनप्रति आकर्षित नभएको स्थानीय केशवराज गुरुङले बताएका छन् । एक दशकअघिसम्म उनका दुईवटा भेडीगोठ थिए, अहिले त्यो पनि छैन । एउटा भेडीगोठमा ४०० वटासम्म भेडा हुने पुर्णे गुरुङले बताएका छन् । कमाइ राम्रो हुने भए पनि दिनरात हिँड्नु पर्ने, खान र सुत्न नपाइने भएपछि धेरैले यसलाई मन पराउँदैनन् । लेकबेँसी गरिरहनुपर्ने र दुःख धेरै भएकाले अहिलेका केटाहरुले यो काम गर्न नै नखोजेको स्थानीय केशावराजले बताए ।

धेरै चिसो पनि नसहने र धेरै गर्मी पनि नरुचाउने भेडालाई वर्षभरि नै लेकबेसी डुलाइरहनुपर्ने भएकाले बढी दुःख हुने धेरैजसोको स्थानीयको अनुभव छ । एउटा घुम्ती गोठबाट अर्को घुम्ती गोठसम्म जान घण्टौँ लाग्छ, खान र बस्नको ठेगान नहुँदा तत्कालै पनि आम्दानी नहुँदा समस्यमा परेको राजु गुरुङले गुनासो गरेका छन् ।

केही पाका उमेरका लाप्राकीले अझै पनि भेडापालन गरिरहेका भए पनि युवा भने यो पेसाबाट विस्थापन हुने स्थितिमा रहेको राजुले बताए । आफ्नो संस्कार र संस्कृतिसँग प्रत्यक्ष जोडिएको भेडापालन व्यवसाय विस्थापनको सङ्घारमा पुग्नु निकै दुःखदायी रहेको डेगबहादुर गुरुङले दुखेसो पोखेका छन् । हाम्रो जीवनशैली र रीतिरिवाज भेडासँग जोडिएकाले भेडापालनको संरक्षण र प्रवद्र्धनका लागि सरकारीस्तरबाट सहयोग आवश्यक रहेको उनले बताएका छन् ।

गोरखामा गुरुङ जातिको चाडपर्व र रीतिरिवाजसँग भेडा जोडिने भएकाले त्यसको संरक्षणमा गाउँपालिकाले प्रयास सुरु गरेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले बताएका छन् । उनका अनुसार गाउँपालिकाले भेडापालनलाई प्रोत्साहन गरिरहेको छ । चितवनमा हात्ती र गैँडा, बर्दियामा बाघ भनेजस्तै धार्चेको परिचय भेडा पनि भएकाले भेडीगोठ जोगाउन अनुदानका कार्यक्रम सुुरु गरेको गाउँपालिका अध्यक्षले जानकारी गराएको छ । भेडा रहे मात्रै गुरुङका संस्कृति जोगिने भएकाले त्यसको संरक्षणमा आफूहरूले त्यसका लागि छिट्टै योजना ल्याउने गुरुङको मुख्य उद्देश्य रहेको बताए ।

प्रकाशित मिति: बिहिबार, चैत्र २४, २०७८