शनिबार, बैशाख १५, २०८१

२७ करोड तिरेर किनिएको भ्यान थन्कियो, १० दिनमा भ्यान चलाउन निर्देशन दिने मन्त्री कै जागिर चट

काठमाडौं । उपभोक्तालाई विक्री गरिने खाद्य बस्तु गुणस्तरीय छन् कि छैनन भनेर अनुगमन गर्नका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २७ करोड रुपैयाँ खर्चेर किनेको भ्यान प्रयोग विहिन भएर थन्किँदा बिग्रेर कामै नलाग्ने अवस्थामा पुगेको छ । बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेपछि सरकारले त्यस्ता वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका ती मोबाइल भ्यान किनेको थियो । ती भ्यान प्रयोगविहीन अवस्थामा छन् । खाद्य प्रविधि विभागमा ती भ्यान अलपत्र परेका छन् ।

खाद्य बस्तुको गुणस्तर अनुगमन गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत किनिएको करीव २७ करोडमा किनिएको भ्यान अहिलेसम्म विभागको चौर थन्क्याएर राखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सो भ्यान प्रयोगमा नल्याउँदा एकातिर राज्यकोषको २७ करोड बालुवामा पानी जस्तै भएको छ । भने उपभोक्ताहरुले गुणस्तरहीन खाद्य बस्तु खान वाध्य हुनु परेको छ ।
खाद्य पदार्थको परिक्षण गर्नका लागि मोवाईल भ्यान निकै नै प्रभावकारी भएको बताउने विभागले करोडौं रुपैयाँ पर्ने भ्यानलाई चलाउन नसक्ने विभागको नेतृत्वको निकै नै कमी कमजोरी रहेको देखिन्छ । विभागको उच्च अधिकारीहरु एकले अर्कालाई दोष देखाएर जिम्मेवारीबाट पन्छन खोजिरहेको स्पष्ट छ ।

गत माघ १८ गते विभागको दोश्रो चौमाकिस प्रगति समिक्षाका दिन १० दिन भित्र सो भ्यान सञ्चालनमा कृषि मन्त्रीले विभागका महानिर्देशक मतिना बैद्यलाई निर्देशन समेत दिएका थिए । तर महिना दिन नाघिसक्दा पनि भ्यान सञ्चालनमा आउन सकेको छैन । तर यतिखेर १० दिन भित्र भ्यान सञ्चालन गराउन निर्देशन दिने कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालको जागिर चैट भईसकेको छ । सोमबार सरकारमा सहभागि दलहरु वीचको मतभेदका कारण गठवन्धन तोडिएसँगै कृषि मन्त्री पनि बेरोजगार बनेका छने् भने उनले दिएको निर्देशन अव १० दिन होइन १० महिना पर सर्ने संकेत देखिएको छ ।

आम नागरिकलाई गुणस्तरी खाद्य पदार्थ विक्री वितरण गराउन महत्वपूर्ण भूमिका रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जिम्मेवारीबाट टाढा भागिरहेको स्पष्ट छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्नु पर्ने जिम्मेवारीबाट पन्छिएका प्रशस्त उदाहरणहरु कृषि अनलाइनसँग सुरक्षित छ । गुणस्तरहीन वेकरीलाई कार्वाही गर्न दिएको उजुरीदेखि संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनको कार्यक्रमका समयमा सोल्टी होटलमा अखाद्य पदार्थ र खानेकुरामा देखिएको कैफियतको वर्तमान महानिर्देशक मतिना बैद्य प्रत्यक्ष हुँदा कै बखत कार्वाहीका लागि माग उठ्दा समेत कुनै सचेत समेत नगराएको भिडियो रेकर्ड समेत सुरक्षित छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई गुणस्तरीय खाद्य पदार्थको सहजताका लागि काम गर्ने जिम्मेवारीबाट पन्छिन खोजको एउटा दरिलो प्रमाण पनि हो २७ करोड खर्चिएर खरिद गरेको भ्यान सञ्चालनमा नल्याएर थन्क्याएर राख्नु । यस विषयमा थप जानकारी लिने प्रयासका लािग मंगलबार प्रवक्ता मोहन श्रेष्ठसँग कुरा गर्दा उनले फोन उठाएनन् । त्यस्तै महानिर्देशक मतिना बैद्यको मोवाईल फोन सम्पर्क हुन सकेको छैन ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २२, २०८०