आइतवार, बैशाख २३, २०८१

कृषि मन्त्रीको निर्देशन टेर्दिनन् महानिर्देशक मतिना बैद्य !

काठमाडौं । कृषि मन्त्री डा बेदुराम भुसालले दिएको निर्देशन नटेरेको भन्दै खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना बैद्यलाई मन्त्री भुसालले तेश्रो पटक चेतावनी स्वरुप निर्देशन अनुसारको काम गर्न भनेका छन् । अर्धबार्षिक समिक्षा गोष्ठीमा मन्त्री भुसालले महानिर्देशक बैद्यलाई पटक पटक दिएको निर्देशन किन नटेरेको भन्दै प्रश्न गरेका थिए ।

पछिल्लो समय बजारमा अखाद्य पदार्थहरु प्रशस्त भेटिन थालेपछि प्याकेजिङ्ग खाद्य पदार्थहरुको गुणस्तर परिक्षण गरी कार्वाहीका लागि सिफारिस गर्ने अधिकार प्राप्त विभागले पछिल्लो समय त्यस्ता कार्य गर्न छाडेको आरोप लाग्दै आईरेको छ । बरु महानिर्देशक भएपश्चात मतिना बैद्यले मन्त्रालयबाट दिईएको निर्देशन टेर्नु भन्दा आफ्नै खुशीले व्यापारीहरुसँग मिलिभगतमा काम गर्न थालेकी छिन् ।

विभागमा महानिर्देशक हुँदा व्यापारीसँगको लेनदेनका कारण गुणस्तरहीन खाद्य सामग्री पनि नष्ट नगरी विक्री गर्न सहजीकरण गर्न थालेपछि उनलाई बागमती प्रदेश कृषि मन्त्रालयमा सरुवा गरिएको थियो । केही समय बागमती प्रदेश कृषि मन्त्रालयमा बस्दा पनि कर्मचारीहरुलाई निकै नै तनाव दिएको गुनासो कर्मचारीहरुले गरेका थिए ।

शक्तिको पछि दौडिन निकै माहिर मानिएकी बैद्यले त्यसबेला पुन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशक बन्नका लागि शक्ति केन्द्रको आड लिन सफल भएकी थिईन । आफू पछाडि बसेर तल्लो तहका कर्मचारी मार्फत खाद्य परिक्षण र त्यसको चेकजाँचका नाममा, अनुज्ञापत्र उपलब्ध गराउने क्रममा आर्थिक चलखेल गरेको उजुरी मन्त्रीसम्म पुगेपछि अहिले मन्त्री भुसाल मतिना बैद्यलाई हटाउने सुरमा लागेका छन् ।

तर उनले नेकपा समाजावादीका अध्यक्ष माधवकुमार नेपालको आडमा मन्त्री भुसालका कुरालाई अटेरी गर्ने गरेको जानकारहरु बताउँछन । मन्त्री बेदुराम भुसाल आएदेखि नै महानिर्देशक बैद्यलाई खाद्य परिक्षण गर्ने भ्यान सञ्चालन गर्नका लागि पटक पटक निर्देशन दिए । तर, उनले सो कुरा अहिलेसम्म पनि नटेरेपछि मन्त्री भुसालले अर्थबार्षिक समिक्षा कै बेला महानिर्देशक बैद्यको झाको झारेका हुन् । ‘भ्यान चलाउन सक्नु हुन्छ भने चलानुस् नसक्ने हो भने कारण दिनोस् । अन्यथा म त्यसको विकल्प खोज्छु’ मन्त्री भुसालले सार्वजनिक रुपमा नै भनेका छन् । हेरौं अहिलेसम्म नटेरको मन्त्रीको मतिना बैद्यले टेर्छिन कि टेर्दिनन् !

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०