आइतवार, बैशाख २३, २०८१

कृषि उत्पाकत्व बढाउने होइन विचौलिया बढाउने मेलाका रुपमा स्थापित

काठमाडौं । कृषिमा काम भन्दा पनि चर्चा बढी गराउने भएका कारणले होला पछिल्लो समय प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको पाइन्छ । प्रविधिको प्रयोग बढाएर कृषि उत्पादकत्व बृद्धि गर्नका लागि राज्यका तर्फबाट के के भयो भन्ने कुरा कसले भन्ला वा नभन्ला तर कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा.वेदुराम भुसालले भने प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताएका छन् ।

कृषि उत्पादकत्व बृद्धि र किसानका लागि भन्दा पनि विदेशबाट ल्याइएका कृषि सामग्री ल्याएर किसानलाई बेच्ने व्यापारीहरु लक्षित भएको तीन दिने कृषि मेलामा कृषि मन्त्री भुसालले सो कुरा बताएका हुन् ।

कृषि मेला वास्तविक रुपमा किसान लक्षित भने देखिएको छ । कृषि मन्त्रीदेखि सचिव, महानिर्देशकसम्मलाई बोलाएर राम्रै हल्लाखल्ला गर्ने काम भने कृषि मेलाका नाममा आयोजकले गर्न सफल भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मातहतका निकायबाट सरकारी बजेटलाई पनि सदुपयोग गर्न सफल भएको व्यवसायिक कम्पनीले आयोजना गरेको मेलामा कृषि व्यवसायीहरु लक्षित कार्यक्रम मात्र भएको छ ।

कृषि मेलाले किसान र उत्पादनलाई जोड्ने भन्दा पनि ठूलो व्यवसायीहरुको व्यवसाय फस्टाउने गरिएको प्रयत्न हो भन्दा फरक पर्ने देखिँदैन । विदेशी कम्पनीहरुले उत्पादन गरेका बीउविजन तथा कृषि यन्त्र प्रदर्शनीमा राख्ने अधिकांश छिमेकी भारतका कम्पनीहरु मात्र रहेको छन् । भने केही चीनका पनि भेटिएका छन् ।

जसले ट्रयाक्टरदेखि विषादी छर्न प्रयोग गरिने ड्रोन, हार्भेष्टरसम्मको व्यापार गर्नका लागि विचौलियाका रुपमा मात्र सिमित हुने देखिएको मेलामा सहभागीहरुले नै गुनासो गरेका छन् ।

कृषि मेला भनिएको भएता पनि किसान लक्षित कुनै पनि नयाँ योजना भने देखिएन् । बरु कृषि मेलामा धेरै मानिसहरु फिटनेसका सामग्री खरिद गर्न भने झुम्मिएका देखिन्थे ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०