मङ्लबार, बैशाख १८, २०८१

बजारभर हानिकारक माछा, कसले हेर्ने ?

काठमाडौं । गतबर्ष कुखुरामा बर्डफ्लुको चर्चा र आतंकसँगै आम उपभोक्ताहरुले आफ्नो मांसाहारी बानीलाई परिवर्तन ल्याउन सकेनन् त्यसको स्वरुप फेरे । काठमाडौंमा कमैमात्रा प्रयोगमा आउने माछा प्रति उपभोक्ताहरुको रुचि बढ्यो । यसैका कारण काठमाडौं उपत्यका भित्र माछाको माग बढ्दै गयो । माछाको माग बढ्दै गएका कारण नेपालमा उत्पादित माछाको खपतले उपभोक्ताको माग पूरा गराउन नसकेपछि छिमेकी राष्ट्र भारतबाट सहज रुपमा माछा भित्रन थाले ।

व्यवसायीहरुले माछा भित्र्याउने क्रमसँगैसगै मुलुकभर माछा उत्पादन गर्ने किसानहरुको संख्या पनि नबढेको भने होइन तर त्यसले भारतबाट आयात हुने माछासँग प्रतिष्पर्धा हुन नसक्ने हो कि भन्ने आशंका पनि पैदा भयो । भारतबाट आयात गर्ने माछाहरु जति धेरै विक्री भईरहेका छन् त्यसलाई स्वास्थ्यका दृष्टिकोणले कसैले पनि हेरेको देखिँदैन ।

खाद्य प्रविधि गुण नियन्त्रण विभागले अन्य खाद्य पदार्थको अनुगमन गर्दै गरेको भएपनि माछाको गुणस्तर कस्तो छ भन्ने कुरा खासै चासो नदिएको हो कि भन्ने तर्क एकातिर छ भने अर्कोतिर नेपालमा नै उत्पादन भएका र पछिल्लो समयमा उपभोक्ताहरुले मन पराएका जीउँदा माछा व्यवसायीहरु भने स्वदेशी माछा व्यवसायीहरुलाई प्रशासनले बजारीकरणका लागि झमेला गरिरहेको बताउँछन्  ।

काठमाडौं उपत्यकामा माछा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई नै उदृत गर्ने हो भने पनि अहिले बजारमा बेच्न राखिएका माछाहरु मानव स्वास्थ्यका लागि हानिकारक भएकोले जीउँदो माछा प्रयोग गर्नु बढी उत्तम देखिन्छ । तर जीउँदो माछाका लागि उपभोक्ताहरुले सहज रुपमा पाउन सक्ने अवस्था देखिएको छैन । जे जस्तो माछा उपभोक्ताहरुले पाएका छन् ती माछाहरु नै सर्वोत्कृष्ट मान्ने अवस्था देखिएको छ ।

यद्यपी व्यवसायिक रुपमा माछापोखरीबाट मारेर ल्याएका बजारमा बेच्न राखिएका माछा आन्ध्र प्रदेश र बंगाल खाडीबाट बढी आउने गरेको देखिन्छ ।

ती माछाहरुलाई ताजा देखाउनका लागि र झिँगा नभन्कियोस् भन्ने सोचले मृत व्यक्तिमा प्रयोग गरिने फर्मालिन बिषादी प्रयोग हुने गरेकोले पनि त्यस्ता माछाहरु मानव स्वास्थ्यका लागि हानिकारक भएको स्वयं व्यापारीहरुले नै बताउ“छन् । फर्मालिन बिषादी प्रयोग गरि बेच्न राखिएका माछा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक भएकाले सम्वन्धित निकायले यसप्रति सजग हुनु आवश्यक छ ।

प्रकाशित मिति: आइतवार, अशोज ७, २०८०