शनिबार, बैशाख १५, २०८१

सुदुर पश्चिमको कैलालीका किसानले अझै मल पाएनन्

कैलाली । विगत लामो समयदेखि मुलुकभर रासायनिक मलको अभाव खट्कँदै आएको छ । किसानहरुले धान रोप्ने मौसम असार साउनमा मल नपाएपनि गहुँ रोप्ने मौसममा मल पाउने आशा गरेका थिए । तर गहुँ छर्ने मौसम सकिन लाग्दा पनि मलको अभाव अझै चर्कँदै गएको छ ।

कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइन बस्न पुगेका छन । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उनी मलका लागि लाइनम बस्न गएका हुन् । किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो ।

“खेती लगाउने समयमा सबैभन्दा बढी पीडा मलको हुन्छ । सहजरूपमा मल नपाउँदा समयमा खेती गर्न सकिएको छैन”, उनले भने, “बजारमा मल पाइँदैन । सहकारीहरूले पनि आफ्ना सेयर सदस्यलाई मात्रै मल उपलब्ध गराउँछन् । मल नहालेर उब्जनी हुँदैन ।” सोही ठाउँका लक्ष्मण चौधरीले खेत जोतेर छाडेका छन् । उनी मल नपाएपछि गहुँ छर्ने काम हुन नसकेको बताउँछन् ।

“खेत जोतेको हप्ता दिनभन्दा बढी भइसक्यो । मल नपाएर गहुँ छर्न पाएको छैन”, उनले भने, “बर्सेनिको समस्या मल अभावको कहिल्यै समाधान हुन सकेन । यस्तो भए खेती गर्ने जाँगर पनि लाग्दैन ।” भजनी नगरपालिका–६ का सुरेश कठरिया खेतीपाती सकेर कमाउनका लागि बाहिर जाने तयारीमा छन् । हिउँदे खेती लगाइसकेपछि चार–पाँच महिना घरमा खाली बस्नुपर्ने भन्दै त्यो समयमा ज्याला मजदुरी गरेर घरको अन्य खर्च टार्नका लागि कमाउन जाने तयारीमा रहेका सुरेशलाई मल नपाउँदा समस्या भएको छ । उनले १५ बिघा क्षेत्रफलमा खेती गर्दै आएकोमा जसोतसो पाँच बिघामात्रै गहुँ छर्न सफल भएको बताए ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १३, २०७९