शनिबार, बैशाख १५, २०८१

कञ्चनपुरमा ड्रागन खेतीबाट राम्रो आम्दानी

काठमाडौँ । कञ्चनपुरमा पछिल्लो समय ड्रागन खेतीबाट किसानले राम्रो आम्दानी गर्न थालेका छन् । सो खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरुले खुसी भएको बताए ।

पूर्व वन अधिकृत तथा वेस्टर्न मल्टी एग्रिकल्चर एन्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष रमेश चन्दले २०७७ भदौ ११ मा लगाइएको बिरुवाले फल दिन थालेको बताए । उनले भने, “हामी व्यवसायमा सफल भएका छौँ, ड्रागनले फल दिन थालेको छ ।” नौलो व्यवसाय भएकाले कस्तो हुन्छ भन्ने चिन्ता लिएका उनले फल लागेपछि खुसी भएको बताए ।

नेपालका लागि नौलो व्यवसायका रूपमा परिचित ड्रागन फलको सुदूरपश्चिम प्रदेशमा ठूलो परिणाममा पहिलो पटक कञ्चनपुरमा सञ्चार उद्यमी ज्ञानेन्द्र महता र पूर्व वन अधिकृत रमेश चन्दको संयुक्त लगानीमा खेतीको सुरुवात गरिएको हो । भीमदत्त नगरपालिका–९, मटैनामा करिब साढे चार करोडको लगानीमा ड्रागन खेती सुरु गरिएको छ ।

वेस्टर्न मल्टी एग्रिकल्चर एन्ड रिसर्च सेन्टर प्रालिले नेपालमै पहिलो पटक एकै ठाउँमा ६ बिगाह क्षेत्रफलमा २४ हजार बिरुवा रोपेर खेती सुरु गरेको थियो । सिउँडी प्रजातिको सो ड्रागन खेतीको सुरुवात कोरोना कहरका बीच गरिएको हो । कोरोनाको बीचमा बढ्दो बेरोजगारीलाई मध्यनजर गरेर स्थानीय स्तरमै रोजगारी स्थापना गर्न ड्रागन फलको व्यवसाय सुरु गरिएको लगानीकर्ता प्रालिका प्रबन्ध निर्देशक ज्ञानेन्द्र महताले बताए । यस्तै अर्का लगानीकर्ता तथा प्रालिका अध्यक्ष चन्दले सेवा निवृत्त भएपछि आफूले अनुभव भएको खेती गर्ने उद्देश्यले ड्रागन खेती रोजेको बताए । उनले भने, “मसँग भएको अनुभवका आधारमा युवालाई रोजगारी दिने उद्देश्यले ड्रागनको खेती गरिएको हो, यस फलको विदेशतिर धेरै माग छ ।”

“अहिले २५ प्रतिशत उत्पादन सुरु भइसक्यो, हामीले प्रत्यक्ष अप्रत्यक्ष रूपमा ३० जनालाई रोजगारी दिएका छौँ । अबको केही दिनमा प्रत्यक्ष एक सय जनाको रोजगारी सिर्जना हुने तथा एक वर्षपछि प्रत्यक्ष दुई सय पचास जना तथा अप्रत्यक्ष रूपमा एक हजार व्यक्तिको रोजगारी सिर्जना हुनेछ ।” प्रालिका प्रबन्ध निर्देशक महताले भने ।

ड्रागन खेतीका लागि हालसम्म भीमदत्त नगरपालिकाले सोलार र थोपा सिँचाइमा पाँच लाख तथा सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुरले ३० लाख रकम अनुदान दिएको र बाँकी लगानी बैङ्कबाट ऋण लिएर गरेको निर्देशक महताको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९