शुक्रबार, बैशाख १४, २०८१

पशु सेवा विभागका महानिर्देशकको गलामा औषधीका नाममा पानी बेच्नेको माला

काठमाडौं । पशुपन्छी औषधीका नाममा पानी बेच्नेहरुले नै पशु सेवा विभागको नवनियुक्त महानिर्देशक डा राम नन्दन तिवारीलाई कार्यकक्षमा नै पुगेर बधाईको माला लगाईदिएका छन् । कार्यालयमा आएर महानिर्देशक भएकोमा बधाई दिन आएकालाई नाई भन्न पनि गाह्रो । पदमा पुगेकोमा बधाई तथा शुभकामना दिनु स्वभाविक पनि हो तर बधाई कसको लिने वा नलिने भन्ने कुरा पनि पछिल्लो समय चर्चा चल्न थालेको छ । पशुपन्छी औषधीका नाममा न्यून गुणस्तरको नाम मात्रको औषधी आयात गर्ने र किसानहरुलाई विक्री वितरण गर्नेहरुलाई पशु सेवा विभागले प्रवेश नै निषेध गर्न सक्नु पर्दछ ।

त्यही पशु सेवा विभागबाट फिड सप्लिमेण्टको स्वीकृत लिएर अनेकन धन्दा गर्नेहरु त्यही समूह भित्र नै छन् । त्यत्ति मात्र होइन कही दिन अधि मात्र एक दजर्नभन्दा बढी पशुपन्छीको फिड सप्लिमेण्ट आयात गर्नेहरुलाई गुणस्तरहीन भएको भन्दै फिर्ता गर्न विज्ञप्ति नै जारी गरेको अवस्था छ ।

एकातिर पशुपन्छीको औषधी आयात गर्ने नाममा राज्यले प्रतिवन्धित लगाएका एण्टिवायोटिक गैर कानूनी तरीकाले विक्री वितरण गर्नेहरुलाई पशु सेवा विभाग आफ्नै प्राइभेट कम्पनी जस्तो गर्ने विगतको अवस्थालाई नवनियुक्त महानिर्देशकले अन्त्य गर्न सक्नु पर्दछ ।

हुन त कसैले आँखा नलगाउने तर किसान मारा काम गर्ने काम पशुपन्छी औषधी व्यवसायीहरुले गरिरहेका छन् । तीनै व्यवसायीहरुका कारण किसानहरु मारमा परेका मात्र होइन सडक मै आउनु पर्ने अवस्था पनि सिर्जना भईरहेको कतिपय उदाहरण नै छन् ।

गैरकानून रुपका पशुपन्छी औषधी भित्र्याएकै कारण विगतमा पशुपन्छी औषधी व्यवसायी संघका अध्यक्ष तथा पदाधिकारीहरु निकै विवादमा नआएका पनि होइनन् । अहिले नयाँ महानिर्देशकलाई आर्थिक प्रभावमा पार्ने र आफ्नो स्वार्थपूर्ति गर्ने सोचले व्यवसायीहरु पशु सेवा विभाग धाउन थालिसकेका छन् ।

महानिर्देशकलाई व्यवसायीहरुले लगाईदिएको माला किसान विरोधी र गैरकानूनू रुपमा एण्टिवायोटिक आयात गर्ने, गुणस्तरहीन फिड सप्लिमेण्ट ल्याउनेहरुको पक्षमा नहोस् । नीति नियम र ऐन कानून पूर्ण रुपमा पालना गराउन तर्फ होस

प्रकाशित मिति: सोमवार, चैत्र ७, २०७८