शनिबार, बैशाख १५, २०८१

कृषि सचिव को आयो भन्दा पनि के काम भयो भन्ने कि ?

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पहिलो पटक सचिवका रुपमा महिलाले नेतृत्व पाएको छ । सहसचिवबाट बढुवा भएकी निरु दाहाल पाण्डेलाई मन्त्रीपरिषद्को निर्णयबाट सचिवमा बढुवा गरिएको हो ।

पाण्डे सचिव कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव नियुक्ति हुँदा त्यसले खासै चर्चा भएन । कृषि सचिव नियुक्ति हुँदा सञ्चार माध्यमहरुले प्राथमिकता नदिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत कर्मचारी देखि बाहिर रहेका कृषि विज्ञहरुले समेत सामाजिक सञ्जालमा निकै रोष व्यक्त गरे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय लामो समय जागिर जीवन विताएर अवकाश प्राप्त गरेका केही उच्च अधिकारीले पनि पाण्डेको नियुक्तिमा समाचार नबने पछि सामाजिक सञ्जालमा रुष्टता व्यक्त गरे । हुन पनि प्रशासनिक सेवामा कार्यरत उपसचिव देखि सचिवसम्मका सरुवा बढुवामा सञ्चार माध्यमहरु निर्कै सक्रिय देखिन्छन् तर कृषि सेवा तर्फ भने प्राथमिकता दिएको पाईदैन ।

सरकारले नै कृषिलाई भाषणका लागि उपयुक्त विषयमा बनाए पनि विकासका लागि प्राथमिकतामा नराखे झै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा कलम चलाउनेहरुलाई कहिले प्राथमिकतामा राख्ने प्रयास गरेको थियो र समाचार आएन भने रोइलो गर्नु ?
प्रशासन, शिक्षा, स्वास्थ्य वा अर्थ मन्त्रालयले समेत आफूले गरेका काम जनतासम्म पु¥याउनका लागि सो क्षेत्रमा कलम चलाउने सञ्चार गृह एवं सञ्चारकर्मीहरुलाई सूचना प्रवाह गर्ने गर्दछन् तर कृषिमा त्यो कहिल्यै पनि भएन छैन । त्यसकारण पनि निरु पाण्डे प्रथम कृषि सेवा तर्फ सचिव हुँदा प्राथमकिता पाएनन् भन्ने बुझ्दा पनि ठिक हुन्थ्यो होला कि ?

अर्को महत्वपूर्ण कुरा के हो भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सचिव को आयो वा को गयो भन्दा पनि कुन सचिवको पालाका कृषि क्षेत्रको विकास भयो भन्ने कुरा चर्चा हुनु आवश्यक छ । कृषि सचिव बन्ने व्यक्तिले सहसचिव हुँदा कृषि क्षेत्रका लागि के के योगदान गरेको थियो ? किसानका पक्षका कति योजनाहरु कार्यान्वयन गरेको थियो भन्ने विषय पनि प्राथमकिताम पर्नु पर्दछ ।

कृषि सचिवमा विगतमा आएका सचिवहरुले निरु पाण्डेको चर्चा नभएकोमा दुख व्यक्त गर्नु स्वाभाविक पनि होला । तर, उनीहरु सचिव हुँदा चाहि के गरे त? यो खोजिको विषय बन्नु पर्दछ ।

 

प्रकाशित मिति: बिहिबार, कार्तिक २५, २०७८