शनिबार, बैशाख १५, २०८१

म्याद गुज्रिएका डिडिसीको घिउ खुल्लम खुल्ला विक्री, डिडिसीमा करोडौंको आर्थिक अनियमितता

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान कार्यरत उच्च अधिकारीहरुको आर्थिक लोभका कारण यतिखेर उपभोक्ताहरुले म्याद गुज्रिएको र गुणस्तरहीन डिडिसीको घिउ प्रयोग गर्नु परेको छ । डिडिसीका उच्च अधिकारीहरुले करोडौं आर्थिक अनियमितता गर्दै निजी डेरीसँग खरिद गरेका र आफैले उत्पादन गरेको घिउ म्याद गुज्रिएपछि जनताको स्वास्थ्यको कुनै प्रवाह नगरी बजारमा पठाएका छन् । काठमाडौं महानगरपालिकाको टोलीले गत असोज २६ गते दुग्ध विकास संस्थान (डीडीसी)को भण्डारण गृहमा ९६ हजार ३ सय किलो बटर (मक्खन) म्याद नाघेको फेला पार्‍यो। त्यसको भोलिपल्ट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले पनि अनुगमन गर्दा उक्त बटर म्याद नाघेकै ठहर गरी रोक्का गर्‍यो। त्यसलाई प्रयोग तथा बिक्रीवितरण नगर्न डीडीसीको काठमाडौं दुग्ध वितरण आयोजनालाई निर्देशन दियो। तर, त्यसको केही समयपछि खोजबिन गर्दा फेला परेन।

बरु कारबाही प्रक्रियाको टुंगो नलाग्दै घिउ बनाएर उपभोक्ताको घर–घरमा पठाइसकेको पाइयो। उपभोक्तालाई प्रतिकिलो ५० रुपैयाँ छुट दिई ८ सय ५० रुपैयाँमा बिक्री गरेको खुलेको छ। बिक्रेताले प्रतिकिलो ५ प्रतिशत कमिसन पाए।

‘डीडीसीले यो घटनामा नियमनकारी निकायको निर्देशनको धज्जी त उडायो नै, जनस्वास्थ्यसँग पनि खेलवाड गरेको पाइएको छ। यसमा नियमनकारी निकाय काठमाडौं महानगरपालिका र विभाग पनि उत्तिकै जिम्मेवार देखिन्छन्। अखाद्य अवस्थामा भेटिएको वस्तु बरामद गर्नुपथ्र्यो। तर, ‘विश्वास’मा त्यत्तिकै छाडदिए। यी दुवै निकायले नष्ट गरेको भए उक्त बटर घिउ बनेर तपाईं–हाम्रो भान्छासम्म आइपुग्ने थिएन।

उक्त बटरको बजार मूल्य ८ करोड १८ लाख रुपैयाँ पर्छ। डीडीसीले पोखरास्थित सुजल डेरीबाट १ लाख ९५ हजार किलो खरिद गरेकामा ९६ हजार ३ सय किलो म्याद नाघेको भेटिएको हो। खाद्य ऐन २०२३ अनुसार ‘कैफियत’ भेटिएको अवस्थामा तत्काल ‘शिलबन्दी वा जफत गरी’ कारबाही थाल्नुपथ्र्यो। तर, त्यसो नगर्दा उपभोक्ताको ज्यानलाई जोखिममा पार्ने ‘मौका’ डीडीसीले पायो।

विभागका महानिर्देशक उपेन्द्र रायले अनुगमनकै समयमा कैफियत पाइएलगत्तै ‘शिलबन्दी वा नियन्त्रण’ गर्न नसकिएको स्वीकार गरे। विभागले आफैं गएर अनुगमन गरेका कारण कैफियत भेटिँदा पनि शिलबन्दी वा नियन्त्रणमा लिन नसकेको महानिर्देशक रायको स्वीकारोक्ति छ।

उनका अनुसार महानगरपालिकाको अनुगमनपछि क्षेत्राधिकार विवाद होला भनेर जफत वा शिलबन्दी नगरिएको हो। म्याद नाघेको बटर माइनस १८ डिग्री सेल्सियस तापक्रम कायम गर्ने भण्डारण कक्षको अभावका कारण रोक्का गर्न निर्देशन दिइएको उनको भनाइ छ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य प्रकाश रसाइलीलगायतले पनि अनुगमन गरेका थिए। अनुगमनका क्रममा गुणस्तरहीन भनिएको बटर बिक्री भएको फेला परेको अनुगमनमा सहभागी तिम्लिसिनाले बताए।

डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले म्याद नाघिसकेको भनेर बाहिर आए पनि उक्त बटर निश्चित तापक्रममा राखेर १८ महिनासम्म प्रयोग गर्न मिल्ने दाबी गरे। ‘उपभोग्य मिति ८ महिना कटे पनि त्यसलाई उचित तापक्रममा राखेर १८ महिनासम्म प्रयोग गर्न मिल्छ’, निमित्त महाप्रबन्धक अधिकारीले भने, ‘बाहिर हल्ला भएअनुसार उक्त बटर गुणस्तरहीन वा न्यून गुणस्तरको छैन।’ विभागले त्यो बेला दिएको निर्देशनका विषयमा भने आवश्यक छलफलको आधारमा मात्रै आधिकारिक धारणा राख्न सकिने अधिकारीले बताए।

खाद्य विभागले खाद्य ऐन २०२३ को दफा ५ (२) अनुसार १० हजार रुपैयाँ जरिवाना माग दाबी गर्दै सरकारी वकिल कार्यालयमार्फत असार २ गते जिल्ला प्रशासन कार्यालयमा अभियोगपत्र दायर गरेको छ।

डीडीसीको काठमाडौं दुग्ध वितरण आयोजनाका तत्कालीन निमित्त प्रमुख गोविन्दराज जोशी र सुजलडेरी प्रालिका क्युसी म्यानेजर नरेन्द्र डंगोललाई प्रतिवादी बनाइएको छ। डीडीसीले बढी भएको दूध सुजल डेरीलाई मक्खन, पाउडर बनाउन दिँदै आएको छ। सुजलले सेवाशुल्क लिएर यो काम गर्ने गरेको छ।

‘हामीले आवश्यक विवरण उपलब्ध गराउन र असुरक्षित रूपमा भण्डारण गरिएका बटर बिक्री नगर्न ५–६ पटकसम्म आग्रह गरेका थियौं’, विभागका महानिर्देशक रायले भने, ‘तर बल्ल गत वैशाखमा आवश्यक विवरण डीडीसीले उपलब्ध गरायो। त्यही आधारमा आयोजना र सुजल डेरीविरुद्ध मुद्दा दायर गरेका छौं।’

तर, जनस्वास्थ्यसँग खेलबाड गरेको घटनामा ‘सामान्य’ कारबाही मात्रै माग गरिएको छ। खाद्य ऐनको दफा ३ विपरीत कार्य गरेको अभियोगमा डीडीसीमाथि दफा ५ को १ अन्तर्गत ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँ वा दुवै सजाय माग गरी मुद्दा चलाउन सक्ने व्यवस्था छ।

‘मुद्दालाई कमजोर बनाउन निक्कै हलुको दफा प्रयोग गरेको देखियो,’ अर्का उपभोक्ताकर्मी ज्योति बानियाँले भने, ‘यो प्रकरणमा काठमाडौं महानगरपालिकाका साथै खाद्य विभागको टोलीले पनि गम्भीर त्रुटि गरेको देखियो।’

डीडीसीले कच्चापदार्थको ‘उपभोग्य मिति हेर्ने अभ्यास’ प्रयोगमा नल्याएको अभियोगपत्रमा उल्लेख छ। यस्तै, जानीजानी म्याद नाघेको र म्याद ननाघेको मख्खन एउटै स्थानमा राखेर दूध तथा दुग्ध जन्यपदार्थ बनाउन प्रयोग गर्ने गरेको अभियोग लगाइएको छ। असुरक्षित रूपमा भण्डारण गरिएको, जवाफ चित्तबुझ्दो नदिएको, विभागले २०७७ कात्तिक २६, मंसिर १६ र पुनस् मंसिर २६ गते ३ पटक पत्राचार गरे पनि यथार्थ विवरण उपलब्ध गराउन आलटाल गरेको जनाइएको छ। अन्नपूर्ण पोष्टबाट

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८