बुधबार, बैशाख १२, २०८१

उखु किसानको भुक्तानीका लागि ६ किसान संगठनले दिए सरकारलाई चेतावनी

काठमाडौं । लामो समयदेखि उखु किसानहरुले आफूले पाउनु पर्ने भुक्तानी नपाएपछि पटक पटक सडक आन्दोलन गर्दै आईरहेको छन् । चिनी मिलका मालिकहरुले उखु किसानहरुको भुक्तानी नदिएपछि किसानहरु पुनः आन्दोलनमा उत्रिएका छन् । उखु किसानहरुले आफूले पाउनु पर्ने भुक्तानी नपाएको भन्दै आन्दोलनमा उत्रिएपछि विभिन्न राजनीतिक दल निकट ६ वटा किसानसँग सम्वन्धित संगठनले चासो व्यक्त गर्दै विज्ञप्ति प्रकाशन गरेका छन् ।

उखू किसानहरुले आफ्नो मेहनतबाट उत्पादित वस्तु चिनी मिल तथा अन्य व्यापारीहरूलाई विक्रिवितरण गरिसकेपछि पनि वर्षौंदेखि आफूले पाउनुपर्ने रकम प्राप्त गर्न नसक्नु कृषि र किसानका लागि दुःखदभएको भन्दै तत्काल किसानहरुको भुक्तानी उपलब्ध गराउने माग समेत गरेका छन्

अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा,अखिल नेपाल किसान महासंघ(अप्फा) भैरव रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ्ग, अखिल नेपाल किसान युनियन अध्यक्ष लोकनारायण सुवेदी, अखिल नेपाल प्रगतिशील किसान संघ अध्यक्ष कृष्ण रानाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यसअघि अनेक जालझेल र तिकडम गरेर सत्तामा टिकेको विगतको केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठनहरू र उखु किसानहरूलाई झुठो आश्वासन दिएको आरोप समेत लगाएका छन् ।

छ संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, केपी ओलीको सरकारले भ्रममा पारेका कारण आज नेपाली उखु किसानहरूले उस्तै पीडा भोग्नु परेकोछ र पुनः संघर्षमा उत्रिनुपर्ने स्थिति सिर्जना भएको छ । तसर्थ वर्तमान सरकारले ओली सरकारलेजस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (व्याज तथा हर्जाना समेत) एकमुष्ठ रुपमा र सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गर्न÷गराउन हामी किसान संगठनहरू जोड्दार माग गर्दछौँ । ’

छ संगठनले किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा उखु किसानहरूको पक्षमा चिनी उद्योगी तथा व्यापारीहरू र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ ८, २०७८