शुक्रबार, बैशाख १४, २०८१

भैंसीमा भ्यागुते रोगको संक्रमण देखिएपछि…

बाँके । बाँकेमा भैँसीमा भ्यागुते रोगको लक्षण फेला परेको छ । यसको लक्षणसँग मिल्दोजुल्दो कारणले किसानका गोठका भैंसी मरिरहेका छन् । भैसीको मृत्युले दुखले अर्जेको सम्पत्ति स्वाहा हुँदै गएको किसनाहरू बताउँछन् । रोगको सङ्क्रमणबाट धमाधम भैँसी मर्न थालेको किसानहरूले बताएका छन् । हाल एउटा भैंसीको लगभग डेढ लाखदेखि दुइ लाख बीस हजारसम गाउँघरमा बिक्री हुन्छ । यो किसानको लागि निकै ठूलो रकम हो । एउटा गरिब किसान एक भैसी मर्ने हो भने जीवनभर उठ्न सक्दैन । यो तथ्य सरकारले जिम्मेवारीका साथ सुन्न र बुझ्न तयार रहनुपर्छ । राप्तीसोनारी गाउँपालिका–७ स्थित खल्ला झगडिया गाउँमा किसानले पाल्दै आएका भैँसी केही दिनअघिदेखि बिरामी पर्नासाथ मर्न थालेको स्थानीय बताउँछन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जबाट खटिएको पशु चिकित्सकको टोलीले भ्यागुते रोगको पहिचान गरेको बताइएको छ ।

रोगको पहिचान भएपछि राप्तीसोनारी–६ र ७ मा पर्ने फत्तेपुर क्षेत्रका ६०० पशुलाई भ्यागुते रोग विरुद्धको खोप दिइएको चिकित्सकहरूको दाबी छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीका अनुसार रोगको लक्षण शतप्रतिशत हो । भ्यगुते रोग पशुमा देखिएपछि भैँसीमा मुखबाट पानी आउने, ज्वरो आउने, काम्ने जस्ता लक्षणहरू देखिने विज्ञहरू बताउँछन् । यसको उपचार नेपालमै सम्भव रहेको छ । ग्रामीण भेगमा पशु बिरामी हुँदा चिकित्सकको सल्लाह नलिएर धामी झाँक्री लगाउने चलन अद्यावधि छँदै छ । यसो हुनुमा किसानको बाध्यता पनि छ । चिकित्सकसँग देखाउँदा खर्च पनि बढी लाग्ने र औषधिकाे खर्च पनि लाग्ने कारण झन्झट छँदै छ । सामान्यतया एकदिन पशुले खाने कुरा नखाँदा झारफुकले सञ्चो भएको विश्वास गर्नुको विकल्प पनि किसानसँग हुँदैन । तसर्थ किसानहरू चिकित्सकसँग परामर्श लिन हिचकिचाउने गर्दछन् । यदि पशुका औषधि सरकारले थोरै पैसामा किन्न मिल्ने बनाउने हो भने छिटोछरितो रोगको पहिचान गर्न र उपचारमा सहज हुने पशुचिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १९, २०७८