शुक्रबार, बैशाख १४, २०८१

किसान आयोगमा पदाधिकारी नियुक्ति, सवै पदाधिकारी ओली निकट

काठमाडौं । राष्ट्रिय किसान आयोगमा रिक्त पदाधिकारीहरु सरकारले नियुक्ति गरेको छ । नियुक्ति भएका सवै पदाधिकारी ओली निकट मात्र रहेका छन् । नेकपा विभाजन पश्चात एमालेका अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल किसान महासंघको अध्यक्ष बनाएका प्रेम दंगाललाई मन्त्रीपरिषद्ले अध्यक्षमा नियुक्ति गरेको छ ।

आयोगको अध्यक्ष पदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दंगाल सहित डा विमल कुमार निर्मल र जुद्ध बहादुर पुनको नाम सिफारिस गरेको थियो ।

त्यस्तै मन्त्रीपरिषद्ले आयोगको किसान प्रतिनिधि सदस्यमा एक महिला सहित ३ जना सदस्यमा जीवन्ती पौडेल, सूर्यप्रसाद खनाल र मञ्जु धिमाललाई नियुक्ति गरेको छ । सो पदका लागि नौ जनाको सिफारिस भएको थियो ।

त्यस्तै विज्ञ सदस्यमा पुष्पा भुसाल, डा विमलकुमार निर्मल र डा डिल्लीराम सेढाई सिफारिस भएको पुष्पा भूषाललाई सरकारले विज्ञ सदस्यका रुपमा नियुक्ति गरेको छ । भुसाल कृषि मन्त्री पद्मा अर्यालका पिए तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव टेकप्रसाद लुँईटेलकी श्रीमती हुन् ।

त्यसै गरी आयोगमा पदाधिकारीमा रहेको सहकारी सदस्यमा भने कालीकोटका टेकबहादुर बोगटी नियुक्त भएका छन् । विगतमा राष्ट्रिय किसान आयोगमा तात्कालिन माओवादी र नेपाली कांग्रेस निकट व्यक्तिले मात्र भरिएको किसान आयोगमा अहिले भने ओलीले पूर्ण रुपमा कव्जा गर्न सफल भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, बैशाख २४, २०७८