शुक्रबार, बैशाख ७, २०८१

कोभिड १९ को संक्रमण बढिरहँदा खाद्य सुरक्षाको कुरा खै ?

काठमाडौं । नयाँ भेरियन्टको कोभिड १९ को संक्रमण निकै बढेपछि काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको छ । निशेधाज्ञाका कारण अत्यावश्यक सेवा बाहेक अन्य सेवा पूर्ण रुपमा वन्द गरिएको छ ।

यस बेला आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि ध्यान दिए जस्तै खाद्य सुरक्षाका लागि भने त्यत्ति ध्यान दिएको भने पाईँदैन । यद्यपी अहिले धानको बीउ राख्ने बेला एकातिर छ भने अर्कोतिर गहुँ भण्डारका लागि महत्वपूर्ण समय पनि हो । यद्यपी बीउ सुरक्षा र गहुँको भण्डारणका लागि न त संघीय सरकारले न त स्थानीय सरकारले ध्यान दिन सकेको छ ।

‘हुलमुलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु ’ भन्ने नेपाली उखानलाई मात्र मान्ने हो भने यतिखेर हुलमुलकै कारण कोरोना संक्रमण बढिरहेको छ जसले गर्दाै धेरै नागरिकहरु समस्यामा परेका छन् ।

त्यस्तै अहिले विश्व महामारीका रुपमा फैलिएको छ कोरोना । यस बेला किसानहरुले उत्पादन गरेको खाद्यान्न सुरक्षा गर्ने र आगामी वर्षका लागि आवश्यक बीउको जोहो गर्नु पर्ने थियो तर त्यसो हुन सकिरहेको छैन ।

किसानका भकारीमा राखिएका खाद्यान्न तथा साधारण पोकापन्तरामा राखिएका बीउमा कीरा लागेर बीउ नष्ट भइरहेको छ । बीउ सुरक्षाका लागि पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मातहतका कार्यालयहरुले विभिन्न बैज्ञानिक र आधुनिक प्रविधि अपनाउनु पर्ने थियो त्यसो हुन सकिरहेको छैन । जसका कारण किसानहरु यो महामारीका वीचमा आफूले उत्पादन गरेको कृषि उपज सुरक्षित भण्डारण गर्न सकिरहेका छैनन भने बीउ पनि सुरक्षित गर्न सकिरहेका छैनन् । जसले गर्दा आगामी बर्षहरुमा बीउको अभाव मात्र होइन खाद्य संकट पर्ने संकेत पनि देखिएको छ ।

मुलुकलाई खाद्य संकटबाट जोगाउनका लागि पनि किसानहरुले उत्पादन गरेको कृषि उपज तथा बीउ जोगाउन संघ सरकारदेखि स्थानीय सरकारसम्मले जतिसक्दो चाँडो आधुनिक भण्डारको व्यवस्था गर्नु जरुरी छ ।

प्रकाशित मिति: सोमवार, बैशाख २०, २०७८